गजल


                                              किरण शाही कालीकोटे

महंगो भएरै होला सुन कानमै सजियो
सस्तो जुत्ता खुट्टासँगै मैदानमै सजियो

तिमी आए देखि हो उज्यालो आएको
मानौं एक टुक्रा जून शिरानमै सजियो

बाँचुन्जेलसम्म हो सुन्दरताको घमण्ड,
आज जलेको खरानी चिहानमै सजियो

अचेल एक अनौठो रोगले च्यापेको छ,
लाग्छ दिलभित्र कोही अन्जानमै सजियो

गरिव बाउ हुनुको पिडा मलाई थाहा छ,
छोरीका रहरसँगै खेलौना दोकानमै सजियो