२ कार्तिक, जुम्ला । नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कर्णाली प्रदेशको जुम्लामा १८०औं पटको रगत रक्तदान गर्नुभएको छ । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आफ्नो १८०औं पटकको रक्तदान गर्नुभएको हो ।
कर्मचार्यले मानिसमा रक्तदान गर्ने भावना सबैमा जागोस भन्ने सन्देश दिनका लागि विभिन्न जिल्लाहरुमा रक्तदान गर्दै आउनु भएको छ । यसपटक आफुले कर्णालीको जुम्ला जिल्ला १८०औं पटकको रक्तदान गर्ने मौका प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ “मेरो यो रक्तदानले जुम्ला जिल्लाका यूवाहरुमा पनि रक्तदान गर्ने भावना उत्प्रेरित हुनेछ भन्ने विश्वास लिएको छु ।”
रक्तदान पश्चात कर्माचार्यले रक्तदाताले दानमा दिएको रगत बिरामीलाई सरकारले नि:शुल्क उपलब्ध गराउनु पर्ने बताउँदै त्यसकालागि संस्थागतरुपमा नै लागि परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हामी रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै संस्थागतरुपमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट विभिन्न जिल्लामा संगठित भइ रक्तदान गर्न उत्प्रेरित गर्दै आइरहेका छौ ।
कर्माचार्यले आफू १६ वर्षको उमेरदेखि रक्तदान सुरु गरेको बताउँदै हरेक वडा तथा पालिकाहरुमा रक्तदाताहरु जन्माउनकालागि आफुहरुलागि परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ झन कर्णालीमा रक्तदाताहरुको यथोचित छने तर व्यवस्थित हुन नसकेकोले म अहिले जुम्लामा रक्तदान गर्न आइपुगेको हो । कर्णालीको प्रदेश अस्पतालमा र नेपाल रेडक्रस सोसाइटीले सुर्खेतमा र रुकुमपश्चिम अस्पतालमा रक्तसञ्चार केन्द्र संचालित छन् अब आवश्यकता अनुसार कर्णालीका अन्य जिल्लामा पनि रक्तसञ्चार केन्द्र विस्तार गर्नुपर्छ । कर्माचार्यले भन्नुभयो ।
उहाँले १७९ औं पटकको रक्तदान गोरखामा गर्नुभएको थियो ।
Prawash Kumar Shakya । २ कार्तिक २०८१, शुक्रबार १५:४५ बजे