सुर्खेत । चाडपर्वको समयमा उपभोक्तामाथि हुन सक्ने ठगी तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्री नियन्त्रण गर्न वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । आगामी मंसिरमा आयोजना हुने राष्ट्रिय खेलकुदलाई समेत लक्षित गर्दै नगरपालिकाले व्यवसायीलाई व्यवसाय सञ्चालनका निर्धारित मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।
नगरपालिकाको उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख दिपेन सुवेदीको नेतृत्वमा बुधबार वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता अधिकारकर्मी, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले २२ वटा व्यवसायको निरीक्षण गरेको थियो । जसमध्ये १८ वटा मासु पसल, तीनवटा मार्ट र एउटा होमस्टे रहेका छन् । टोलीले विशेषगरी खाद्यवस्तुको स्वच्छता तथा गुणस्तर, मासु पसलको सरसफाइ, नापतौलका उपकरणको अवस्था र व्यवसाय दर्ता तथा नवीकरणलगायतका विषयमा अनुगमन गरेको जनाएको छ ।
मासु पसल सञ्चालकलाई कुखुरा, खसी र राँगाको मासु छुट्टाछुट्टै तथा स्वच्छ तरिकाले राख्न, पसल तथा आसपासको क्षेत्र सफा राख्न र ढक–तराजु अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्न निर्देशन दिइएको शाखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी, व्यवसाय दर्ता वा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भनिएको छ । खाद्य तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न पनि व्यवसायीलाई सचेत गराइएको छ ।
चाडपर्वसँगै बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले खाद्य स्वच्छता, मूल्यसूची, नापतौल तथा व्यवसाय सञ्चालनको वैधानिक अवस्थालाई प्राथमिकतामा राखेर अनुगमनलाई निरन्तरता दिइने सुवेदीले बताउनुभयो ।
यसअघि बजार अनुगमन निर्देशक समितिका संयोजक एवं वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालको अध्यक्षतामा मंगलबार बसेको संयुक्त बैठकले चाडपर्व तथा राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै नियमित बजार अनुगमन गर्ने निर्णय गरेको थियो । बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी डीलबहादुर कार्कीसमेत सहभागी रहेको थियो ।
नगरपालिकाले उपभोक्ताको हित संरक्षणसँगै व्यवसायीलाई पनि प्रचलित कानुन र मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।






Prawash Kumar Shakya । २१ आश्विन २०८३, बुधबार १७:०० बजे