
१६ असोज, रोल्पा । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा ‘राष्ट्रिय रक्त सम्राट’का रूपमा परिचित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रोल्पाको लिवाङमा आफ्नो १८८औँ पटक रक्तदान गर्नुभएको छ ।
रक्तदान मार्फत समाजमा स्वयंसेवी रक्तदानको सन्देश प्रवाह गर्दै आउनुभएका कर्माचार्यले १८ वर्ष उमेर पूरा भएका तथा कम्तीमा ४५ केजी तौल भएका स्वस्थ युवायुवतीलाई रक्तदानका लागि उत्प्रेरित गर्ने उद्देश्यले देशका विभिन्न जिल्लामा पुगेर स्वयं रक्तदान गर्दै आउनुभएको छ ।
कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा समेत रक्तदान अभियानलाई प्रोत्साहन गर्दै आउनुभएका कर्माचार्यले यसअघि मुगु, जुम्ला, जाजरकोट र सुर्खेत लगायतका जिल्लामा रक्तदान गरिसक्नुभएको छ । त्यस्तै उहाँले सिन्धुपाल्चोक, गोरखा, बाजुरा, डडेल्धुरा, नुवाकोट, स्याङ्जा, बाँके, कञ्चनपुर लगायत देशका विभिन्न जिल्लामा पुगेर रक्तदान गर्नुभएको छ ।
कर्माचार्यले रक्तदानलाई केवल रक्तदान केन्द्र वा शहरमा सीमित नराखी दुर्गम तथा पहाडी जिल्लासम्म पुगेर स्थानीय युवापुस्तालाई स्वयंसेवी रक्तदानमा जोड्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँको अभियानले ‘रक्तदान जीवनदान हो’ भन्ने सन्देशसँगै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सक्छ भन्ने जनचेतना फैलाउन सहयोग पुर्याउँदै आएको छ ।
रक्तको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कर्माचार्यले लामो समयदेखि स्वयंसेवी रक्तदाता अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँले विभिन्न जिल्लामा पुगेर रक्तदान गर्नुका साथै स्थानीय युवायुवतीलाई नियमित रक्तदानमा सहभागी हुनसमेत आह्वान गर्दै आउनुभएको छ ।
लिवाङमा गरिएको १८८औँ रक्तदानसँगै कर्माचार्यले देशका विभिन्न भूगोलमा पुगेर स्वयं रक्तदान गर्ने आफ्नो अभियानलाई निरन्तरता दिनुभएको छ ।




Prawash Kumar Shakya । १६ आश्विन २०८३, शुक्रबार १६:४५ बजे