मुख्यमन्त्री शाहीले गर्नुभयो मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

विकास बजेट समय सीमाभित्रै कार्यन्वयन गरौः शाही


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रमपछि बोल्दै मुख्यमन्त्री शाहीले विकास बजेट समय सीमाभित्रै कार्यान्वयन गर्न र प्रभावकारी ढंगले प्रदेश सरकारका गतिविधिहरू सम्पादन गर्न सबै मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको हो ।

कार्यसम्पादन सम्झौता यो औपचारिकतामा मात्र सीमित रहनुहुँदैन। यसले सरकारको सेवा प्रवाह (सर्भिस डेलिभरी) साँच्चै नागरिकले अनुभूत गर्ने खालको हुनुपर्छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो ।

उहाँले मन्त्रीज्यूहरूले अब सचिवज्यूहरूसँग पनि सोही अनुसार कार्यसम्पादन सम्झौता गर्नुपर्ने र सचिवहरूले मातहतका कार्यालयहरूसँग समन्वय गरी प्रभावकारी ढंगले काम गरे/नगरेको, समयभित्र बजेट खर्च भए/नभएको विषयमा गम्भीरतापूर्वक अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । यसले एउटा अनुशासन कायम गर्ने हो, कामप्रतिको लगाव राख्ने हो र समग्र हिसाबले प्रदेश सरकार साँच्चै आफ्ना नागरिकप्रति जिम्मेवार र जवाफदेही छ भन्ने सन्देश दिने हो, उहाँले भन्नुभयो।

साथै उहाँले योजना अनुगमन प्रणालीलाई सकेसम्म प्रविधिसँग जोडेर लैजाने र अनुगमनलाई सहज, छिटो, नियमित र प्रभावकारी बनाउन एउटा छुट्टै सिस्टमको विकास गरेर प्रदेश सरकारले काम गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयका मन्त्री जितबहादुर मल्ल, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका मन्त्री मिलन खड्का रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कीत लामा कार्की, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्री कलबहादुर हमाल लगायतसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा मुख्यमन्त्रि शाहीले प्रमुख सचिब राधिका अर्याल सग पनि कार्यसम्पादन सम्झैता गर्नुभएको थियो भने प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री कार्यालयका सचिवहरू रमेशकुमार केसी, लक्षमी कुमार विक र कानुन सचिव निधिराज न्यौपाने सँग पनि कार्यसम्पादन सम्झौता गर्नुभएको थियो। कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री टेकराज पछाईसँग र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता छिट्टै गरिने जानकारी दिइएको थियो ।