
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीमा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
होटल व्यवसायी संघ सुर्खेत र कर्णाली प्रदेश समितिका पदाधिकारीहरुसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक विकास पर्यटन क्षेत्रसँग जोडेर गर्न सकिने र त्यसका लागि होटल व्यवसायीहरुको सक्रियता जरुरी रहेको बताउनु भएको हो ।
कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटन दशक मनाउने सम्बन्धमा गर्न सकिने कामहरुका बारेमा मुख्यमन्त्री शाहीले होटल व्यवसायीहरुसँग जिज्ञासा राख्नुका साथै सुझाव समेत माग्नुभएको थियो ।
सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद हुने समयमा यहाँका होटलहरुले व्यवस्थापनका सम्बन्धमा समेत मुख्यमन्त्री शाहीले होटल व्यवसायी संघका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको थियो ।
कार्यक्रममा होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको तयारी गर्नु अघि पर्यटकीय क्षेत्रहरु सम्म जाने बाटोको सहजता हुनुपर्ने र त्यहाँ नजिकै रहेको जग्गाको उपलब्ध गराएर होटल क्षेत्रमा समेत लगानी भित्र्याउन सकिने बताउनुभएको थियो ।
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीमा होटलहरुको वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीको नम्बर प्लेट दिने सरकारले पहल गरिदिन आग्रह गर्नुभएको थियो ।



Prawash Kumar Shakya । ९ आश्विन २०८३, शुक्रबार १७:५३ बजे