सुर्खेत । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सुर्खेतका उद्यमी तथा सञ्चारकर्मी दीपककुमार बुढाक्षेत्री र उहाँका श्रीमती हिमाकुमारी उपाध्यायले ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको छ ।
बीसी ग्रुप कर्णालीका अध्यक्ष बुढाक्षेत्री र ग्रुपकी निर्देशक उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश सापकोटाको समेत उपस्थिति रहेको थियो ।
बीसीले आफ्ना स्व. बुवा मानबहादुर बुढाको नवौँ पुण्यतिथि तथा बीसी ग्रुपद्वारा सञ्चालित भवानी छापाखानाको २७औँ वार्षिकोत्सवको अवसर पारेर बाढीपीडितका लागि सहयोग गरिएको बताउनुभयो । बीसीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगमा विभिन्न सरकारी निकायबाट प्राप्त पुरस्कार तथा सम्मानको रकमसमेत समावेश गरिएको जानकारी दिनुभयो ।
त्यस्तै बीसीका श्रीमती हिमकुमारी उपाध्यायले राष्ट्रिय युवा प्रतिभा सम्मान, राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार तथा उत्कृष्ट महिला उद्यमी सम्मानबाट प्राप्त पुरस्कार रकम सहयोग गर्नुभएको छ । बाँकी रकम बीसी ग्रुपअन्तर्गतका विभिन्न व्यावसायिक संस्थाबाट संकलन गरिएको उहाँले बताउनुभयो ।
भवानी छापाखानाबाट ३ लाख ११ हजार १११ रुपैयाँ तथा गंगामाला ट्राभल्स एन्ड टुर्स, युगआह्वान दैनिक/अल्फा कम्युनिकेसन कर्नर, रारा प्रिन्टिङ प्रेस प्रालि र एस मल्टिबिजनेस प्रालिबाट एक–एक लाख रुपैयाँ सहयोग गरिएको जनाइएको छ । बाँकी रकम बुढाक्षेत्री दम्पतीले विभिन्न माध्यमबाट संकलन गरी कोषमा जम्मा गर्नुभएको हो ।
बुढाक्षेत्री दम्पतीले विपद्का बेला आफ्नो व्यक्तिगत तथा व्यावसायिक क्षेत्रबाट सामाजिक दायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।




Prawash Kumar Shakya । १६ आश्विन २०८३, शुक्रबार २१:०५ बजे