प्रेम दिवसको सान्दर्भिकता


२ फागुन
तेस्रो इस्वी शताब्दीतिर रोम साम्राज्यमा अशान्ति फैलिरहेको अवस्था थियो । रोमन सम्राट् क्लोडिअसले आफ्ना युवा सैनिकलाई विवाह गर्न प्रतिबन्ध गरेका थिए र युवा सैनिकको ध्यान राष्ट्रको हितमा मात्र लगाउन आदेश दिएका थिए । यसैबीच सन्त भ्यालेन्टाइन (पुजारी) एउटी प्रेमिकाको प्रेममा परेका थिए । रोमन सम्राट्को आदेश एकातिर भए पनि आफ्नी प्रेमिकाको प्रेममा उनी चुर्लुम्म डुबिसकेका थिए । 

उनको विवाह पनि भयो र विवाह भएकै कारण उनी जेल परे । फेब्रुअरी १४ मा जेलबाट उनले आफ्नी प्रेमिकालाई प्रेमपत्र लेखे र अन्त्यमा तिम्रो प्रेमी भ्यालेन्टाइन भनेर सम्बोधन गरेका थिए । त्यसै कारणलाई आधार मानेर फेबु्रअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस भनेर मानिने गरेको किम्वदन्ती छ ।
किम्वदन्ती फरकफरक हुन सक्छन्, जे होस्, एक युगल जोडीको प्रेम कथामा आधारित दिन हो फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । यसको सुरुआत शदीऔँदेखि इटाली, अमेरिका, बेलायतलगायतका देशबाट भए पनि १०÷१५ वर्षयता नेपालमा पनि मनाउने प्रचलन छ । विशेषगरी युवा जमातमा आफ्ना प्रेमीप्रेमिकाबीच रातो गुलाब, भ्यालेन्टाइन चकलेट, कार्ड र उपहार आदान–प्रदान गर्ने प्रचलन बढ्दो छ । 
अनुसन्धानले बताएको छ– युरोप, अमेरिकामा गुलाबको फूल र भ्यालेन्टाइन कार्ड वर्षभरि बिक्री हुने संख्याको २५ प्रतिशत भ्यालेन्टाइन डेको अवसरमा बिक्री हुने गर्दछ । नेपाली बजारमा पनि अहिले आयातित गुलाबका फूलले फूल पसलहरू भरिएका छन् । युवा जोडी भ्यालेन्टाइन डे कसरी मनाउने भनेर कार्यक्रम तय गर्दैछन् । 
एउटा छुट्टै रौनक र तरंग छाएको महसुस गर्न सकिन्छ । प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो होइन, तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रुअरी १४ मात्र होइन, ३६५ दिन नै कसरी प्रेममय बनाउने ? आफ्नी प्रेमिकासँग मात्र होइन घर–परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्त्वपूर्ण पक्ष हुन आउँछ । 
मानिसको जात नै त्यस्तो जात हो, जो नक्कल गर्न सधैँ अगाडि हुन्छ । फेबु्रअरी १४ को भ्यालेन्टाइन डेको नक्कल गरिएको छ कि वास्तविक प्रेमको महत्त्व अनि व्यावहारिक पक्षको ख्याल गरिएको छ त्यो महत्त्वपूर्ण कुरा हो ।
प्रेमकै कारणले मानिसको जन्म हुन्छ । मानिस भएर जन्म लिएपछि गाँस, वास, कपास अनि जीवन जिउन प्रेम उसको पहिलो आवश्यकता हो भन्ने सबैलाई ज्ञात छ । त्यसपछि उसको कर्म, असल नियत र सही दिशानिर्देश भएमा अरू धेरै धन, पद, सम्मान आदि उपमा पनि चाहन्छ मानिस यो मानवीय स्वभाव हो भनेर अर्थ लगाइन्छ । 
हामीले जोसुकैलाई प्रेम के हो भनेर सोध्यौँ भने सायद उत्तर आउलान् —प्रेम जीवन हो । प्रेम बाँच्ने आधार हो, प्रेम एकअर्काको गहिरो सम्बन्ध हो, प्रेमले खुलेर जिउन सिकाउँछ, प्रेमले मात्र खुसी प्रदान गर्छ । प्रेमबाट नै सम्बन्ध कायम रहन्छ र जीवन चल्छ आदि–आदि । हामीले यही नै अनुभूति गर्दै आएका छौँ— प्रेमको कारण घरपरिवारको सिर्जना हुन्छ । 
प्रेमकै कारण एकअर्कासँग जीवन बाँधिन पुगेको हुन्छ । प्रेमकै कारण एकले अर्कोलाई सहयोगी हात बढाएको हुन्छ र प्रेमले नै संसार चलेको छ । तर गहिरिएर हेर्ने हो भने जति प्रेमले संसार बसाएको छ, त्यति नै प्रेमकै नाममा सखाप भएका घटना पनि हाम्रै समाजमा सुन्नमा आउँछन् । किनकि प्रेम सम्बन्धमा बाँधियो । 
प्रेमीप्रेमिकाबीचको प्रेम होस् या पतिपत्नीबीचको प्रेम, बाआमा र छोराछोरीबीचको प्रेम, साथीभाइ, इस्टमित्रबीचको प्रेम होस् या अरू कुनै सम्बन्ध बनाएको प्रेम होस् । सम्बन्ध छ र प्रेम छ, यो कारणवश गरिएको जस्तो प्रेम नै हामीले बुझेको हुनुपर्छ । त्यसैले त सम्बन्ध रहँदासम्म प्रेमको अनुभूति छ, रमाइलो र खुसी छ, सम्बन्धमा टकराव आउनसाथ खत्तम, छुट्यो प्रेम, अब प्रेममा मुद्दा पर्न थाल्छ । 
हाम्रा वासना, कामना र चाहना प्राप्त हुन र गुम्न सक्छन् । प्रेम न पाइने कुरा हो, न त गुम्ने कुरा । प्रेम हाम्रो स्वभाव हो । यो हामीभित्रै छ, हुनु र छको बोध नै प्रेम हो । यसलाई कसरी फैलाउने हाम्रो स्वभावमा भर पर्छ ।
प्रेम अब न्यायका लागि अदालत धाउन थाल्छ । यही यथार्थ हाम्रो समाज, राष्ट्र, हामीले देखेभोगेका र जानेका यथार्थ हुन् । प्रेमको वास्तविक महत्त्व थाहा नभएको, प्रेमलाई जीवन जिउने सूत्र नबनाएको, प्रेमलाई देखासिकीका रूपमा अपनाइएको र प्रेमलाई प्रेम नै रहन नदिएर यसलाई आफ्नो स्वार्थसँग, सम्बन्धसँग जोडिएको छ भन्दा अनुपयुक्त नहोला । प्रेम कुनै उपन्यास र सिनेमा अनि कथा होइन, जो कहीँबाट सुरु हुन्छ र कतै गएर टुंगिन्छ ।
यो त भित्रको अनुभूति हो, जसले विनाकारण जीवनमा ऊर्जा प्रदान गर्छ । त्यो ऊर्जाले सबैको हित र कल्याणकारी काम गर्छ र मानिसलाई मानिस भएर जिउन प्रेरित गर्छ, अनुशासनमा राख्दछ । केही पाउँदा खुसीको अनुभूति हुन्छ, प्रेमको भाव प्रकट हुन्छ, न पाउँदा चित्त दुख्छ, सिकायत बढ्छ भने त्यो प्रेम होइन । प्रेममा कुनै सिकायत हुँदैन, प्रेममा त मात्र समर्पण हुन्छ । 
प्रेम दिने भाव हो लिने भाव होइन । प्रेम विशाल अनुभूति हो, विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जिउन मद्दत गर्दछ । प्रेममा अशान्त, धोका, अभाव आदि छ भनिन्छ भने त्यो प्रेम होइन । न त प्रेम गर्ने कुरा नै हो । पाउँदा खुसी र नपाउँदा दुःखी हुनु भनेको के हामीले प्रेमलाई अपेक्षाको साधन बनाएका त छैनौँ ? 
हाम्रा वासना, कामना र चाहना प्राप्त हुन र गुम्न सक्छन् । प्रेम न पाइने कुरा हो, न गुम्ने कुरा, प्रेम हाम्रो स्वभाव हो यो हामीभित्रै छ, हुनु र छको बोध नै प्रेम हो । यसलाई कसरी फैलाउने हाम्रो स्वभावमा भर पर्छ । प्रेमको कुनै नाप छैन, कुनै जात र रंग छैन, कसैलाई घटीबढी छैन । के यही प्रेम हामीले बुझेका र व्यवहारमा लागू गरेका छौँ त ?
कि हाम्रो समाजमा प्रेमका विभिन्न मापदण्ड तयार गरिएका छन् ? यो थाहै नपाई वर्षको एक दिन भ्यालेन्टाइन डे मनाउनुको औचित्य छ र ?
साभार : अन्नपूर्ण पोष्ट