भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै रेडक्रस नुवाकोटले मनायो ६४औँ स्थापना दिवस

त्रिशूली नदी किनारमा दीप प्रज्ज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना


नुवाकोट । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस मनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष एवं सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा तथा नुवाकोट जिल्ला शाखाका सभापति हरि श्रेष्ठको सभापतित्वमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।

स्थापना दिवसको अवसरमा त्रिशूली नदीको किनारमा दीप प्रज्ज्वलन गरी भोटेकोशी बाढी तथा अन्य विपद्का क्रममा दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै सहभागीहरूले विपद्का समयमा मानवीय सेवामा रेडक्रसको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि विपद् व्यवस्थापन, उद्धार, राहत, स्वास्थ्य सेवा तथा रक्तसञ्चारजस्ता मानवीय कार्यलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिका महासचिव रामजी पौडेल, जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस स्वयंसेवकहरू लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

त्रिशूली नदी किनारमा गरिएको दीप प्रज्ज्वलनले स्थापना दिवसलाई केवल दिवसका रूपमा नभई विपद्मा ज्यान गुमाएका नागरिकप्रति सम्मान र मानवीय सेवाप्रतिको प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा समेत स्थापित गरेको थियो ।