हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको १ सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरुको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जस्मा बेलसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जस्लाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । केहि समुदायहरुमा केटीहरुको पहिलो रजस्वलाको समयमा गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।
नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ । जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समुदायमा छोरीको ३ पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा १२ दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।
सनातन हिन्दू नै भएतापनी नेवार समुदायका महिलाहरुले तिजको समयमा यो व्रत बस्नु पर्दैन अथवा भनौ बस्ने परम्परा छैन किन कि नेवार समुदायका सनातनी कन्याहरुको बाल्य अवस्थामा नै भगवान सुबर्ण कुमार (हिरण्य गर्भ:) संग बैदिक-तन्त्र निर्देशन अनुसार इही (इहीपा, विवाह ) संस्कार सम्पन्न भै कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरि सकेका छन । यस्तो अवस्थामा यो तीजको व्रत लिई नेवार महिलाहरुले पुन: सौभाग्यका लागि व्रत बसि कामना गर्नु पर्ने आवश्यक्ता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले गर्दा सनातन हिन्दू नै भएतातापनी नेवार महिलाहरुले तीजको यो व्रत लिंदैनन् ।
आजकाल केही नेवार कन्या देखि महिलाहरुले अरुहरुको देखासिकी गर्दै तिजको ब्रत बस्न थालेका छन । रहरले यो व्रत बसेको हुन भने व्यक्तिको स्वतन्त्रता माथि बोल्ने र लेख्ने कुरा भएन तर अज्ञानताबास बसेका हुन भने त्यो नेवारी जुन नेवार परम्परा,संस्कृत र धर्म संस्कार विपरित छ ।



Prawash Kumar Shakya । २८ भाद्र २०८३, आईतवार १५:२८ बजे