द ओरियण्टल इन्स्योरेन्स कम्पनीको ८०औँ स्थापना दिवसमा ६० जनाले गरे रक्तदान


काठमाडौं । द ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८०औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ । कम्पनीको आफ्नै कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी ६० जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमका अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष, स्वयंसेवी शतक रक्तदाता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्य र त्रि.वि.बि. लायन्स रक्तसञ्चार सेवा केन्द्रका अध्यक्ष राजेन्द्र गिरी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले विशेष अतिथि कर्माचार्य र गिरीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

त्यसैगरी, रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले सम्मानस्वरूप प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।

स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । रक्तदानमार्फत बिरामी तथा आकस्मिक अवस्थामा उपचारका लागि आवश्यक पर्ने रगतको उपलब्धतामा सहयोग पुग्ने भएकाले यस्तो सामाजिक कार्यले मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा सहभागी रक्तदाताहरूले नियमित रक्तदान गर्नुपर्ने सन्देशसमेत दिएका थिए । रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गरी मानवीय सेवामा योगदान गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।