कृष्णभीरको अवरुद्ध सडक निर्माण कार्य तिब्र (फोटोफिचर)


पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताउनुभए अनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको बताइएको छ । सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएपछि रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ ।
नयाँ ट्रयाक सँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ भने यस मार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको बताइएको छ ।
यही भदौ १० गते भोटेकोशी बाढीका कारण कृष्णभीर क्षेत्रको सडक भदौ १४ गते भासिए पछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले ४ दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प सुझाएका थिए ।
फोटोः दिपा दाहालको फेसबुकबाट