
केही समयअघि मिडियामा एउटा विषय चर्चामा आयो– गीत रिमिक्सबारे ।
रिमिक्सका बारे अलग्गै ढंगले सोच्ने गायक संगीतकार फत्तेमान राजभण्डारीले भनेका थिए, ‘अरूको गीत मन पराएर आफ्नो आवाजमा रिमिक्स गर्नु भनेको कसैको श्रीमती मन पराएर बिहे गर्नुजस्तै हो । म यो परम्पराको घोर विरोधी हुँ ।’
यसबारे सबैको एकमत वा एकै धारणा कहिल्यै हुन नसकेपछि रिमिक्स, रिसिंगिङजस्ता विविध पदावली अहिले प्रचलनमा छन् । कतिपय कलाकारले पुराना कलाकारका गीत अनुमति नलिई गाइरहेका पनि छन् । हालैका दिनमा वरिष्ठ गायक संगीतकार एवं संकलक नवीनकिशोर राईले आफूले संकलन गरेको चर्चित गीत ‘चुरोटै खान्छु चाँदीको कुल्फीमा ट्याक् ट्याक्’ अनुमति नलिइकन अहिलेका युवा पुस्ताका गायक बाबु बोगटीले गाएकोमा आँसु पोखे ।
लेकाली परिवारका चर्चित गायक एवं संगीतकार नवीनकिशोर राईको गीत गाएकोमा मात्र होइन, सो गीतमा आफ्नो नाम उल्लेख नगरेर कलाकार बोगटीले आफ्ना पिता ज्ञानबहादुरको नाम राखेकोमा झन् पीडा पोखे ।
नवीनकिशोर राईले आफ्ना समकालीन साथी कुमार बस्नेत प्रतिलिपि अधिकार संघको अध्यक्ष हुँदासमेत हारगुहार गर्दा पनि केही नलागेपछि खाए खाओस् भनेर चुप लागे रे !
राई कुनै समय लेकाली सांगीतिक समूहका गायक गणेश रसिक, हिरण्य भोजपुरे, निर्मला श्रेष्ठ, उर्मिला श्रेष्ठ इन्द्रनारायण मानन्धर आदिका साथ थिए । ती सबै आआफ्ना क्षेत्रमा विज्ञ छन्, तर न्याय कतैबाट भएन भन्छन् उनी ।
‘रातो भाले क्वायँ क्वायँ सुत्केरीलाई ख्वाएँ’, ‘आफू त जुरेली हाँगामाथि बसेर’जस्ता गीतबाट चर्चित भएका गायक राईको त हालत यो छ भने अन्य गुमनाम कलाकारको के हालहविगत होला अनुमान गर्न सकिन्छ ।
राईका जेठान संगीतकार गोपाल योञ्जनका धेरै गीत रिमिक्स भएका छन् । गोपाल योञ्जनले आफ्ना मितज्यू कल्याण शेरचनसित मिलेर संकलन गरेका कैयन् गीतको अहिले भिजुअल देख्न पाइन्छ, तर गीतकार वा संकलकको भनेर दाबी गर्ने यथेष्ट प्रमाण कतै भेटिँदैन । योञ्जनका परिवारले पनि केही शुल्क र पारिश्रमिकका आधारमा स्वीकृति दिँदा भोलि यी गीतको अवसान हुन सक्ने धेरै सम्भावना देखिन्छ ।
संगीतकार गोपाल योञ्जनले नारायणगोपालसित मितलगाएको समयमा धेरै गीतमा संयुक्त काम गरेका छन् । त्यतिवेलाका चर्चित गीत नेपाल टेलिभिजन, मनोकामना क्यासेट, म्युजिक नेपाल र मास्टर रेकड्रसबाट प्रकाश हुँदा नारायणगोपाल संगीत कोशले मात्र पारिश्रमिक लिएकोमा योञ्जनपत्नी रिञ्चेनले गुनासो गरिन् ।
अहिले गोपाल योञ्जनको संगीत र नारायणगोपालको स्वरमा रहेका धेरै गीत रिमिक्स भएर सिनेमा र रेकर्डमा प्रयोग हुँदै आएका छन् । तर, ती गीतमाथि न्याय त हुन सकेको छैन, बरु नारायणगोपालकै स्वरमा युट्युब र अन्य प्रविधिमा माग बढ्दै आएको छ । जसको रोयल्टी कतै पनि सुरक्षित छैन ।
यसबाट के बुझिन्छ भने गोपाल योञ्जनको संगीतको रिमिक्स हुन सक्छ होला, तर नारायणगोपालका गीत रिमिक्स गर्न अत्यन्त कठिन छ ।
संगीतकार तथा गीतकार अम्बर गुरुङका पुत्र संगीत संयोजक किशोर भन्छन्, ‘यति विध्न प्रविधि र प्रतिभा आइसके पनि खोइ त २५ वर्षमा अर्को नारायणगोपाल वा नारायणगोपालजस्तो कलाकार आउन सकेको ?’
प्रश्न गम्भीर छ, नारायणगोपालको स्वरमा रहेको गीत रिमिक्स गर्न नहुने प्रसंगमा नारायणगोपाल संगीत कोशका अध्यक्ष पेमला गुरुवाचार्यले कुरा उठाउँदा रेडियो सगरमाथाको आजको कुरामा गीतकार एवं कानुनविद् दिनेश अधिकारी र योञ्जनकी छोरी सृजना सिंह योञ्जनले रिमिक्सको पक्ष लिएर बहस गरेका थिए । तर, आज त्यो बहस थालिएको १६ वर्षपछि पनि रिमिक्सले कुनै अलौकिक गायकलाई जन्म दिएको छैन ।
रिमिक्स इतिहास मेट्ने एउटा कमजोर कला भए पनि यसले नारायणगोपाल मेटिन सकेका छैनन्, प्रेमध्वज प्रधान वा अरुण थापा मेटिन सकेका छैनन् ।
प्रेमध्वजको गीतलाई सुरुमा गायक रवि हाडाले रिमिक्स गरे । अरुण थापाको गीतलाई राजु लामा, बुद्धि श्रेष्ठ आदिले गरे पनि ती कलाकार यथास्थानमै रहे । रामकृष्ण ढकालबाहेक नारायणगोपालको गीत गाउने लहरमा गायिका लोचन भट्टराई, उदय सोताङ, देवनारायण प्रधान आदि आए । तर, ती सबैले आआफ्नो किसिमले उनको गायनलाई प्रस्तुत गरेका छन् । तर, नारायणगोपाल संगीत कोशकै प्रतियोगितामै प्रथम भएका गायक शैलेश सिंहले नारायणगोपालका दुई गीत ‘वनै खायो डढेलोले’ र ‘मेरो सानो संसार गाएर’ श्रद्धाञ्जली दिएका छन् ।
यो इतिहासको अर्को पाटो हो ।
नारायणगोपाल स्वयंले पनि कयाैँ सन्दर्भमा पहिले अरूले गाएर चर्चित भएका गीतमा थप शब्द राखेर गीत गाएका छन् । जसमध्ये ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘ए मलाई माया गर्छु भन्ने हजुर’ प्रमुख हुन् । यी गीत नारायणगोपालले भन्दा पहिले भारतको दार्जिलिङमा दिलमाया खातीले अनि दोस्रो गीत नेपालमै गायिका इन्दिरा श्रेष्ठले गाइसकेका थिए । तर, संयोगले यी दुवै गीत नारायणगोपालकै आवाजमा चर्चित हुन पुगे । जसको श्रेय नारायणगोपालको आवाजलाई नै जान्छ ।
गोपाल योञ्जन स्वयंले गाइसकेको ‘सारा दिन अरूलाई बाँडे सायद यी रात मेरा’ नारायणगोपालले गाएपछि मात्र चर्चित भयो । यसलाई रिमिक्सको भन्दा रिसिंगिङको एउटा सुनौलो परम्परामा लिन सकिन्छ । यस किसिमको काम भारतमा गायक जगजीत सिंहले पनि गरेका थिए, ‘क्लोज टु हार्ट’मा ।
अब यो परम्परालाई रिमिक्सको इतिहासमा हेर्ने हो भने कृतिस्वको कुरा अनि सर्वाधिकार संरक्षणको कुरामा अन्याय हुन सक्ला । यसो हुँदाहुँदै पनि अहिले रिमिक्सको चलन अपार बढ्दो छ । तर, नारायणगोपालकै गीत किन भन्ने प्रसंग यहाँ दोहोरिँदो छ ।
नेपाली जनबाट स्वरसम्राटको उपाधि पाएका गायक नारायणगोपाल गुरुवाचार्यको निधन भएको २६ वर्ष भइसक्यो । तर, उनको गायनको इतिहास अझै अपूरो भएको छैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’मा केही वर्षअघि बनेको फिल्ममा नारायणगोपालकै संगीतको ‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्’ प्रयोग गर्ने अनुमति मागिएको थियो । तर, नारायणगोपाल संगीत कोशले त्यस फिल्मका संगीतकार एवं निर्मातालाई त्यो अनुमति दिएन । तर, अनुमति नपाए पनि त्यही शैलीको वा लगभग त्यही खालको धुनको रेकर्ड गरेर फिल्ममा प्रयोग गरियो ।
नारायणगोपालबाहेक नेपाली संगीत आकाशमा चलेका धेरै कलाकारमध्ये अरुण थापा, तारादेवी, अरुणा लामाका गीत बढी रिमिक्स हुने गरेको पाइन्छ ।
मूल्यांकनका हिसाबले गायिका अरुणा लामाका गीतलाई रिमिक्स गरेर परिवारजनलाई एक पैसा पनि क्षतिपूर्ति दिइएको छैन । तर, त्यसबाहेक तारादेवीको गीतलाई पनि त्यस्तै र लगभग त्यसभन्दा भद्दा किसिमको व्यवहार गरिएको देखिन्छ ।
नेपालमा अहिले रोयल्टी समाज, प्रतिलिपि अधिकार मञ्चजस्ता संघसंस्था भए पनि कामकाजी रूपमा यिनले यस विषयउपर कुनै वैकल्पिक ढंगले सोचेको जस्तो देखिँदैन ।
हालैका दिनमा गायक पूर्ण नेपालीले लेखेका छन्, झलकमान गन्धर्वले गाएको ‘हे बरै आमैले सोध्लान् नि खोइ छोरा भन्लान्’ भन्ने गीतको संकलक झलकमान नभई अरू नै कोही भएको दाबी गरेका छन् । तर, यसको अधिकार र कृतिस्वबारे रेडियो नेपाल वा म्युजिक कम्पनी कति सतर्क छन् त ?
गायनको हिसाबले झलकमानले पहिलोपटकमै ख्याति पाएको यो गीत उनका पिता दुर्गाबहादुर परियारको संकलन हो भन्ने दाबी संस्कृतिविद् चेतन कार्कीको छ । तर, कार्कीले यो गीत आफ्नो नाटक ‘आत्मा बेचेको छैन’मा प्रयोग गर्दा दुर्गाबहादुर परियार अस्वस्थ भएकाले उनका छोरा झलकमानलाई गीत गाउन लगाएका थिए । तर, गायक संगीतकार पूर्ण नेपाली अझै यस विषयमा थप सजग हुँदै भन्छन्– यसका असली संकलकको खोजी हुन बाँकी छ ।
झलमान गन्धर्वको जस्तै गायक तथा संगीतकार मित्रसेन थापा मगरको गीत ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्री बहिनीले’ नेपाली चलचित्रमा प्रयोग गरिएको छ । तर, यसमा मित्रसेनलाई अधिकारपूर्ण सम्मान दिइएको छैन । यसका लागि स्वयं चलचित्रकर्मी यादव खरेल र संगीतकार शम्भुजित बासकोटाले केकस्तो पहल गरे, बाहिर आएको छैन । तर, यस गीतको प्रयोग एक ऐतिहासिक फिल्ममा सही ढंगले भएको छ भन्न सकिने प्रमाण काफी छ ।
पुनर्गायन, पुनतार्जगी र इतिहासलाई सम्झिने क्रममा भएका यस्ता कामका लागि हरदम हामी सजग हुन जरुरी छ, इतिहासलाई सम्मान गर्दै ।
आखिर इतिहासलाई जीवित राख्ने जिम्मेवारी पनि त हामीमै छ ।
साभारः नयाँपत्रिका अनलाइन



Prawash Kumar Shakya । १४ मंसिर २०७३, मंगलवार ०३:३२ बजे