
-चण्डिका मैनाली
नेपोलिएन बोनापार्टको प्रसिद्ध कथन ‘मलाई असल आमा देउ म तिमीलाई असल राष्ट्र दिनेछु ! ’ रिट्विट गर्नुअघि मेरी आमाको अनुहारको झल्को आँखामा आ
उँछ । म फेसबुकमा पनि आमा भन्दै रुन पाउँ भन्ने गीत सेयर गर्ने सोचमा हुन्छु । तर ‘क’ अक्षर नचिनेकी मेरी आमाले थाहा पनि पाउनुहुन्न होला म उहाँलाई सम्झिरहेकी छु भन्ने !
आमाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा इन्टरनेटमा आमाप्रति सम्मान देखाउने आफ्नै मूर्खतासँग टिठ लागेर आउँछ । यो कस्तो सम्मान मेरो ? कहिलेकाँही आँखी झ्यालको खापा बन्द गर्दा त्यो सँगै भित्तामा टाँसेको पत्रिकामा आमाले नियालेको म पनि देख्थेँ । उहाँलाई झ्यालको बुट्टा र पत्रिकाका अक्षरको आकार समान लाग्दो हो । तर अक्षर नचिने पनि उहाँले त्यसले बुझाउने जीवनको अर्थ उहाँले पहिल्यै जान्नु भएको थियो ।
छोरीलाई नपढाउने चलन र सानैमा बसाइएको घरगृहस्थीको चापले अक्षर चिन्न नभ्याए पनि उहाँले अक्षआ
रको अर्थ र महत्व बुझेकै कारण हामीले पढ्न पाएका थियौँं । किताब च्यापेर स्कुल जाने आफ्नो रहर उहाँले छोराछोरी पढाएर पूरा गर्नुभयो । तर अझै अरू धेरै आमाजस्तै उहाँ छोराछोरी हाँस्दैखेल्दै, रमाउँदै किताब च्यापेर स्कुल गएको सपना देख्नुहुन्छ । उहाँको समयमा एउटी छोरीले किताब च्यापेर स्कुल जानु दिवास्वप्नमात्र थियो । त्यसैले उहाँले कहिल्यै रहर व्यक्त गर्न सक्नुभएन । अचेल भन्ने गर्नुहुन्छ – ‘मान्छेलाई धेरै रहर लाग्छन् तीमध्ये कति पूरा हुनै नसक्ने पनि हुन्छन् ।’
तर उहाँका अव्यक्त चाहनाका कारण मेरा धेरै रहर पूरा भए । मलाई नङ्पालिस लाउन मन लाग्यो भने भोलिपल्टै आइपुग्थ्यो । चिनी किन्न राखेको थैलीको जगेडा पैसा घटेको हुन्थ्यो । भन्नुहुन्थ्यो – एक महिना चिनी नहालेको चिया खाउँला के भो र ? मलाई सल भएको कुर्ता सुरुवाल लगाउन मन लाग्यो भने दसैँमा आमाका लागि मामाले पठाइदिएको नयाँ सारी दर्जी दाइकहाँ पुग्थ्यो र भोलिपल्टै काटकुट भएर कुर्ता, सुरुवाल, सल बन्थ्यो ।
किशोरावस्था विशेषगरी महिनावारीका बेला आमाको साथ महत्वपूर्ण रह्यो । आमा नहुनुभएको भए कति कष्टकर हुन्थे होलान् ती दिन । सम्झँदा पनि कहाली लाग्छ ।
हाम्रा लागि जमेट्री बक्स, क्यालकुलेटर, चाइनिज कलम, नीलो मसी, गद्दावाला कापी, हेयरबेन्ड, कथाका किताब सबै सबै रहर जब आमासामु पुग्थे सबैजसा पूरा हुन्थे । तर आमाका नाडीका चुरा, गलाको पोते र कपालको धागो फेरिएको मैले देखिन ।
आमालाई मैले धेरैजसो अस्तव्यस्त र हतारमै देखेको छु । जहिल्यै काम बित्ने उहाँलाई कहिल्यै पनि टुसुक्क बसेर कामको पीर नगरी गफ गरेको अहिलेसम्म देखेको छैन । उही अस्तव्यस्त जीवनशैलीकी आमा नै मेरो जीवनको सबैभन्दा क्षमतावान शिक्षिका, उत्प्रेरणा र परामर्शदाता हुनुहुँदो रहेछ भन्ने पढाइको सिलसिलामा काठमाडौं आएपछि मात्रै ज्ञान भयो । तर आमाले कहिल्यै केही कुराको रहर गरेको हामीले थाहा पाएनौ । अहिले थाहा हुँदैछ सन्तानको ओठको मुस्कान नै आमाको खुसी हुँदो रहेछ । अहिले बुझ्दैछु, आमाले त आफ्ना रहर र आवश्यकतालाई श्यामस्वेत बनाएर छोराछोरीको सपना रंगाउँदा रहेछन् ।
मायाको चेपारे शब्द आमाको मुखबाट मैले कहिल्यै नसुनेपनि म त उहाँकै भरोसामा मात्रै पो बाँचेको रहेछु । मैले कुनै केटा मन पराएको छु भन्ने कुरा मलाईभन्दा पहिला आमालाई थाहा भइसकेको हुनेरहेछ । म कस्तो संगतमा छु भन्ने घरमा मेरो व्यवहार हेरेरै थाहा पाउनुहुँदो रहेछ आमाले । मेरो आवश्यकता के के हुन् भन्ने थाहा पाइनसक्दै पूरा भइसकेका हुँदा रहेछन् आमाको साथमा हुँदा । आमाहरूले दुःख सहेर पनि बाँच्न चाहनुको कारण त सन्तानलाई खुसी दिन र तिनको ओठमा मुस्कान हेर्न पो रहेछ ।
यथार्थमा आमाहरूमात्रै अब हामीले अपेक्षा गरेको समाज परिवर्तनका असली वाहकहरु हुनसक्छन् । किनभने उनीहरुले मात्रै सन्तानलाई आपूmले चाहेअनुसारको बनाउन सक्ने क्षमता राख्छन् । किनभने आमाको चाहना नै सन्तानको खुसी हुन्छ ।
साभारः बाह्रखरी अनलाइन



Prawash Kumar Shakya । २४ बैशाख २०७३, शुक्रबार ०६:१४ बजे