एक यौनकर्मीको कथा


‘पहिले ऊ कहिलेकाहीँ कोठीमा आउने गर्थ्यो। कहिले मेरो साथमा त कहिल अरु नै युवतीको साथमा बस्थ्यो…।’

‘तर, विस्तारै विस्तारै ऊ मेरै लागि मात्रै कोठीमा आउन थाल्यो । थाहा छैन, कसरी ऊ र मेरोबीच विशेष सम्बन्ध बन्यो ।’

मेरठको रेड लाइट एरिया कबाडी बजारस्थित एक कोठीमा बेचिएकी अनिता (परिवर्तित नाम) का लागि ऊ आशाको किरण बनेर आइपुग्यो ।

यौनकर्मीको जीन्दगीमा प्रेमको कुनै स्थान हुँदैन भनिन्छ । तर, अनिताको जीवनमा भने प्रेमको रङले प्रवेश पाउँदै थियो ।

यद्यपि, अनिताले यसअघि पनि कतिपय भावनात्मक सम्बन्धलाई पार नगरेकी होइनन् । तर, पनि आशाको एउटा किरण बाँकी नै थियो, उनको जीवनमा ।

यही प्रेमले अनितालाई यौनकर्मी जीन्दगीबाट छुटकरा दिलायो । उनलाई समाजमा सम्मानजनक जीवन मिल्न सम्भव भयो ।

जागिरको प्रलोभनमा कोठीमा !

पश्चिम बंगालको २४ परगनाबाट रेडलाइट एरियासम्म ल्याइएकी अनिताको जिन्दगीले संघर्षका थुप्रै मैदानहरु पार गरिसकेको थियो ।

उनी भन्छिन्, ‘मेरो घरमा आमा, बुबा, सानी बहिनी र भाइ थिए । घरमा सधैँ पैसाको अभाव हुन्थ्यो । यस्तो अवस्थामा पैसा कमाउनु नै त्यसवेलाको जरुरत थियो ।’

‘त्यसैले मैले सोचेँ कि म पनि जागिरमा लागू । पैसा कमाउँ र घरमा थोरै भए पनि सहयोग गरुँ’, उनले थपिन्, ‘त्यसपछि गाउँकै एक व्यक्तिले मलाई शहरमा जागिर लगाइदिने आवश्सन दिएका थिए ।’

‘उसले मेरो आमा, बुबासँग पनि भनेको थियो कि मलाई राम्रो कमाइ हुने जागिर लगाइदिनेछ । करिब ५ वर्षपहिले उसको साथमा यो ठाउँमा आएको थिएँ’, उनी भन्छिन्, ‘तर, केही दिन झुलाएर उसले मलाई कोठीमा बेच्यो ।’

विरोध गर्दा ज्यान लिने धम्की

त्यसबेला अनिताको लागि दुनियाँ नै अन्धकारमय भयो । केही दिनसम्म त उनले आफूमाथि के भयो भन्ने समेत अत्तोपत्तो पाइनन् ।

जागिर खान आएकी अनिताको लागि यौनकर्मी बन्नु मृत्युलाई अंगाल्नु भन्दा कम थिएन । सुरुवात्मा उनले धेरै विरेाध समेत गरिन् ।

परिणाम स्वरुप उनीमाथि कुटपिट भयो । हत्या गर्ने र अनुहार विगारिदिने लगायतका धम्की दिइयो ।

उनी भन्छिन्, ‘मेरो अगाडि अरु कुनै बाटो थिएन । एकातिर म त्यस ठाउँमा नयाँ थिएँ । मेरो लागि त्यो ठाउँ जेल सरह बनेको थियो । ममाथि जबरजस्ती पनि गरियो । ताकि ग्राहकको लागि म तयार बनूँ । अब मर्ने अथवा बोल्ने बाहेक मेरो सामु कुनै विकल्प थिएन । अन्तिममा मैले आफूलाई यौनधन्दामा समर्पित गराउन बाध्य भएँ ।’

नर्कबाट छुटकारा चाहिएको थियो

तर, अनिताको जिन्दगीमा त्यतिवेला परिवर्तन आयो, जब उनको भेट मनिष (परिवर्तित नाम) सँग भयो । कतिवेला मनिष र उनीबीच विशेष सम्बन्ध बन्यो, दुवै जना नै थाहा भएन ।

‘मनिष मलाई भेट्न निरन्तर आउन थाल्यो । ऊ मसँग गफ गर्थो । मलाई एकदमै राम्रो महसुस हुन्थ्यो ।’

फेरि एक दिन अचानक आफ्नो दिलको कुरा मनिषले राख्यो । अनितालाई कोठीको नर्कबाट छुटकरा चाहिएको थियो । मनिषप्रति उनले सहारा देखिन् ।

तर, मनिषमाथि सहजै भरोसा गर्न सम्भव भइरहेको थिएन । पहिले पाएको धोकाबाट उनी सतर्क थिइन् ।

त्यसैले अनिता सम्हालिँदै कोठीबाट बाहिर निस्किने इच्छा मनिषलाई सुनाइन् । त्यहाँका अन्य युवतीहरुलाई पनि मनिष पटकपटक त्यहाँ आउनुको कारण बारे थाहा भइसकेको थियो ।

तर, उनको लागि त्यस्तो हुनु नौलो कुरा थिएन । किनकि, थुपै्र पटक त्यस्ता ग्राहक आउने गरेका थिए, जसलाई कुनै युवती खुब मन पर्छ ।

एनजीओको सहारा

मनिषले एक एनजीओसँग सम्पर्क गरे । जुन संस्था मेरठमै काम गर्छ । र, वेश्यावृत्तिमा फसेका युवतीहरुको उद्दार गर्नुका साथै पुनर्स्थापना गर्न सहयोग गर्छ ।

उनीहरुलाई सुराकी दिने अधिकांश कोठीमा जाने ग्राहक नै हुन्थे । एनजीओका सञ्चालक अतुल शर्मा भन्छन्, ‘मनिष म भए ठाउँ आएको थियो । उसले भन्यो कि ऊ कोठीमा एक युवतीसँग प्रेम गर्छ र, उसलाई त्यहाँबाट निकाल्न चाहन्छ ।’

‘मैले उसलाई सोधेँ कि कोठीबाट निकालेपछि के हुन्छ ?’, शर्माले थपे, ‘उसले भनेको थियो, ऊ अनितासँग विहे गर्न चाहन्छ ।’

मनिषको कुरालाई पहिलो पटकमै विश्वास गर्न अतुललाई मुस्किल परिरहेको थियो । उनले केही दिनपछि आउन आग्रह गरे । ऊ बचनको कति पक्का छ भन्ने बुझ्नलाई आफूले त्यसो गरेको अतुल बताउँछन् ।

मनिष दुई दिनपछि फेरि आयो र त्यही कुरा दोहोर्‍यायो । अनि मात्र, अतुललाई मनिषको कुरामा यकिन भयो ।
जब कोठीबाट निकालिइन्

शर्माले भनेका छन् कि उनी पहिले युवतीसँग सहमति लिएर आएका थिए । जबरजस्ती उनलाई कोठीबाट निकाल्न गाह्रो हुने भएकाले त्यसो गरिएको उनको भनाइ छ । मनिषले अनिता समक्ष गएर उसलाई सबै कुरा सुनाएको थियो ।

अनिता त्यो ठाउँबाट निस्किनका लागि यति बेचैन थिइन् कि उनले एक स्टाम्प पेपर ल्याउनलाई आग्रह गरिन् । जब मनिष पेपर लिएर गए, तब उनले खाली कागजमा औंठा छाप लगाइदिइन् ।

अनिता भन्छिन्, ‘मलाई लेख्न आउँदैनथ्यो । म बाहिर केही कुरा पनि गर्न सक्दिन थिएँ । म चिच्याएर भन्न चाहन्थे कि मलाई यहाँबाट निकाल ।’

त्यसपछि अतुल शर्मा प्रहरीलाई साथमा लिएर कोठीसम्म पुगेका थिए ।

दलालको डर

अनितालाई शर्माले चिनेकी थिएनन् । त्यसैले उनले ठूलो आवाजमा अनिता भनेर चिच्याए ।

त्यसपछि एक युवती उठिन् । ‘मैले बुझिसकेको थिएँ की उनै अनिता हुन् । मैले उसको हात समातेँ । र, मसँगै हिँड्न भनेँ । ऊ केही डराइरहेकी थिइन् । किनकि, कोठीबाट निकालेपछि पनि दलालको डर भइरहन्छ’, शर्माले भने, ‘त्यसपछि कोठी सञ्चालकले मलाई रोक्न खोजे । तर, मैले भने की यी युवती यहाँबाट निस्किन चाहन्छिन् ।’

‘यदि ऊ सिँडीबाट उत्रिन्छिन् भने उनी हाम्री हुन्छिन् । तर, उत्रिनन् भने म फर्किन्छु’, शर्माले आफूले भनेको कुरा सम्झिदै भन्छन्, ‘मैले यति भन्ने वित्तिकै ऊ भाग्दै सिढीबाट उत्रिइन् र गाडीमा बसिन् ।’

त्यसपछि अतुलले मनिषको आमाबुबासँग सम्पर्क गरे । स्वाभाविक थियो, पहिले उनीहरुले मानेनन् ।

तर, छोराको जिद्दीको सामु उनीहरुको केही लागेन । युवतीको विगतलाई सधैँ लुकाइ राख्ने सर्त उनीहरुले राखे ।

रहनसहनको तालिम

अनिता भन्छिन्, ‘मैले बिहेको बारेमा त सोच्नै छोडिसकेकी थिएँ । तर, मनिष आएपछि भने थोरै आशा जागेको थियो ।’

‘उसको बुबाआमाले मलाई नअपनाएको भए पनि मलाई नराम्रो लाग्ने थिएन । आखिर कोही किन आफ्नो बदनामी चाहन्छ ? तर, विस्तारैविस्तारै उहाँहरुले मलाई पूरै अपनाउनु भयो’, उनी भन्छिन्, ‘आज मेरो एउटी छोरी पनि छे । र, उसले इज्जतदार जिन्दगी पाएकी छे ।’

मेरठको कबाडी बजारमा रेड लाइट एरिया छ । जहाँ युवतीहरुले सिटी बजाएर ग्राहकहरु बोलाउनु सामान्य कुरा हो ।

त्यसको माध्यमबाट उनीहरुले समान्य युवतीको भन्दा फरक पहिचान बनाएका थिए । तर, अहिले त्यहाँबाट छुटाएर ल्याइएका युवतीहरुले पुनस्र्थापित भएका छन् ।

उनीहरुलाई रोजगारी दिने प्रयास समेत भएको छ । त्यहाँबाट निकालेर शर्माको संस्थाले युवतीलाई सामान्य रहनसहनको तालिम पनि दिइरहेकेा छ । जसका लागि उनीहरुलाई केही दिन संस्थाको स्वयम्सेवकको घरमा राख्ने गरिन्छ ।

ताकि, उनीहरुले त्यहाँ रहेका महिलाहरुबाट सामान्य रहनसहनको तरिका सिकुन् ।

कोठीमा लामो समयसम्म काम गर्ने युवतीको उठ्ने-बस्ने, बोल्नेदेखि लिएर सबै कुरा फेरिने अतुल शर्मा बताउँछन् । युवती एक आम परिवारमा रहन सकोस् भनेर त्यसको प्रयास जारी राखिने उनको भनाइ छ ।  बीबीसी हिन्दीबाट