
काठमाडौं । गोधूलि कला साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा यहाँँ साहित्यकारहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्याक्रमको आयोजना गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिएको प्रतिष्ठानको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिएको हो ।
वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गमय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो । सुवेदीलाई अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वल्र्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामूहिक रुपमा अभिनन्दन गरेका थिए ।
त्यसैगरि वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान, वरिष्ठ मूर्तिकार भुवन थापा ‘बहुबि’लाई गोधूलि अरनिको कला सम्मान, साहियकार तथा समाजसेवी पलबीर जुग्जालीलाई गोधूलि सत्यमोहन संस्कृति सम्मान, अरनिको अभियन्ता डा. सागर न्यौपानेलाई अरनिको अभियान राष्ट्रिय पुरस्कार, अनुवादक अणुराज जोशीलाई गोधूलि सिर्जना सम्मान, समाजसेवी केशर सुनारलाई गोधूलि समाजसेवा सम्मान, लोकसंस्कृतिका संरक्षक राम भण्डारीलाई गोधूलि कला संस्कृति संरक्षण सम्मान, साहित्यकार अज्ञात युवक (लवप्रसाद भण्डारी) लाई गोधूलि साहित्य जागरण सम्मान, समाजसेवी अर्जुन सदाशंकरलाई गोधूलि कला–साहित्य सेवा सम्मान, गजलकार तथा गीतकार रश्मी रोदनलाई गोधूलि युवा सिर्जनशील सम्मान, कलाकार अर्पिता पराजुलीलाई गोधूलि चित्रकला सम्मान र बालप्रतिभा संगम बि.क.लाई गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुको बारेमा समालोचक तथा लेखक छायाँदत्त न्यौपाने र अरनिको अभियानका संस्थापक नारायणकुमार जिसीले परिचय प्रस्तुत गर्नु भएको थियो ।
उक्त भव्य कार्यक्रमका वीच प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवस तथा विशिष्ट साहित्यकारहरुले चर्चित महिला साहित्यकार ललिता दोषीका “ललिताको लालित्य” (सुसेली सङ्ग्रह), “उघ्रिँदैन आकाश” (मुक्तक सङ्ग्रह), “हार्मोनियमको धुन” (बाल चित्रकथा) र “नीलकमल” (अङ्ग्रेजी कथा) समेत चार कृतिहरुको लोकार्पण गर्नु भएको थियो । सो अवसरमा उक्त कार्यक्रमका संयोजक एन.बी. अन्जानलाई प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो भने एन्जल वल्ड ईन्टरनेशल एकेडेमीका विद्यार्थीहरुद्वारा मारुनी नृत्य प्रस्तुत गरेर सबैलाई स्वागत गर्दै मनोरञ्जन प्रदान गरिएको थियो ।
गोधुलि कला साहित्य प्रतिष्ठानकी संरक्षक पशुपति गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले गर्नु भएको थियो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवसले उक्त कार्यक्रमले आफुलाई छुट्टै किसिमको आनन्दको अनुभूति भएको बताउनु हुँदै यस्ता कार्यक्रमको आयोजना सरकारी तहबाट हुनुपर्नेमा गोधुलिले गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यवाद दिनुभयो ।
प्रतिष्ठानकी उपाध्यक्ष साहित्यकार ललिता दोषीले कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने वरिष्ठ कवि लक्ष्मी मालीको कवितासंगै कार्यक्रमको समापन गरिएको थियो ।
Prawash Kumar Shakya । १ जेष्ठ २०८२, बुधबार १७:४२ बजे