नागरिकको माग एकातिर सरकारको निर्णय अर्कातिर
बिस्नप्रसाद न्यौपाने
फागुन १९, कालिकोट ।
कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डमा साना सवारी साधनहरुलाई २४ सै घण्टा खुला गर्ने कर्णाली प्रदेश सरकारको निर्णयको बिरोध भएको छ । कर्णाली प्रदेशको संघिय मामिला तथा कानुन मन्त्रालयले सडक सुरक्षाका लागि तयार पारेको ४० बुँदे कार्यक्रमका बिषयमा जिल्ला प्रशासन कार्यालय कालिकोटमा आयोजित छलफल कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले निकै जोखिमयुक्त कर्णाली राजमार्गमा स्तरोन्नती बिनै २४ सै घण्डा यातायात संचालन गर्ने प्रदेश सरकारको निर्णय गलत भएको भन्दै बिरोध जनाएका हुन् ।
कर्णाली प्रदेशको प्रदेश सरकारले कर्णाली राजमार्गमा विगतमा बेलुका ८ बजेदेखी बिहान ६ बजेसम्म सवारी दुर्घटना न्यूनिकरणका लागि यातायात सेवा बन्द गर्दै आएकोमा अहिले ठुला सवारी साधनहरु राती १० बजेदेखी बिहान ५ बजेसम्म बन्द गर्ने र साना सवारी साधनहरुलाई जुनसुकै वेला पनि संचालन गर्न दिने भनेर निर्णय गरेपछि कालिकोटका सरोकारवालाहरुले बिरोध जनाएका हुन् । जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनीपाल शाहीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा रारा कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष हस्तबहादुर बमले साना गाडीहरु पनि राती १० बजेदेखी बिहान ५ बजेसम्म सडकको स्तरोन्नती नभएसम्म बन्द गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले कालोपत्रे भनिएको कर्णाली राजमार्ग अहिले ८० प्रतिशत भत्कीसकेको, न्यूनतम दुई लेनको समेत सडक नभएको, साँघुरो र निकै जोखिमयुक्त राजमार्ग भएकाले २४ सै घण्टा सवारी साधन संचालन गर्नु जाहेज नभएकोमा जोड दिनुभयो ।
कार्यक्रममा भनाई राख्ने अन्य वक्ताहरुले पनि कर्णाली राजमार्गमा बिहान ५ बजेदेखी बेलुका ९ बजेसम्म यातायात सेवा सुचारु गर्नुपर्ने आफुहरुको माग भएपनि प्रदेश सरकारले २४ सै घण्टा यातायात सेवा संचालन गर्ने निर्णय गर्नु अनुचित भएकोमा जोड दिए ।
ज्यानमारा राजमार्गका रुपमा चिनिएको कर्णाली राजमार्ग स्तरोन्नती बिनै २४ सै घण्टा यातायात सेवा सुचारु गर्दा विगतका जस्तै ठुला ठुला दुर्घटनाहरु दोहोरीन सक्ने यहाँका नागरिकहरुको भनाई छ । कर्णाली राजमार्ग कर्णालीवासीहरुका लागि मृत्युमार्ग जस्तै बनेको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड संचालन भएदेखी हालसम्म साना ठूला गरी १ सय ५९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा यहाँका सयौ नागरिकहरुले ज्यान गुमाउनु परेको छ । सुर्खेत–जुम्ला सडक खण्ड संचालन भएदेखी यात्रुबाहक बस, ट्याक्ट्र, मिनी टाटा, मिनी ट्रक, जीप गरी १ सय ५९ वटा दुर्घटनाहरु भएका छन् ।
यिनिहरु मध्ये सबैभन्दा बढी ८५ वटा दुर्घटना कालिकोट खण्डमा मात्र भएका छन् । दैलेखमा २९ र जुम्लामा २१ वटा दुर्घटना भएका छन् भने अन्य सुर्खेतको बाङगेसिमलदेखि कल्याण्नकाँधसम्मको सडक खण्डमा भएका छन् । मृत्युमार्गको रुपमा चिनिएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक २०६३ चैत्र ३० गतेदेखी संचालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमूख सुभासचन्द्र बोहोराले कालिकोटको सडक खण्ड निकै जोखिमयुक्त रहेको भन्दै राती पनि सवारी संचालन भएपनि संचारको समेत सेवा नभएको राजमार्गमा ठुलो जोखिम मल्नु पर्ने बताउनुभयो । जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा हालसम्म २ सय ९ जनाको मृत्यु भएको छ भने २ सय ४३ जना भन्दा बढी घाइते भएका छन् । जसमा ९३ जना अपांग भएका छन् । अधिकांश दुर्घटना दैलेखको साइगाउदेखि कालिकोटको राचुली छिडेनासम्मको ८८ किलोमिटर सडक खण्डमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सॉघुरो बाटो, मर्मत सुधारको अभाव, अत्याधिक मोड, पुराना गाडी र चालकको लापरवाही जस्ता कारणले दुर्घटनाको संख्या बढदै गएकोे छ ।
प्रहरी प्रमूख बोहोराले प्रदेश सरकारले तय गरेको समृद्धिका लागि सुरक्षा अभियान अन्तरगत सडक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिदै प्रदेश सरकारले हरेक गाउपालिकामा इन्सपेक्टरको नेतृत्वमा १ सय ३० जना प्रहरी, नगरपालिकामा सिनियर अफिसरको नेतृत्वमा १ सय ५० जना प्रहरी राख्ने अनुमान गरिएपनि कालिकोटमा हाल कुल ३ सय ३ जना प्रहरीले जिल्लाभरी सुरक्षा दिईरहेको बताउनुभयो ।




Milan Shrestha । २० फाल्गुन २०७४, आईतवार ०९:४७ बजे