
१६ चैत,विराटनगर / कोशी प्रदेशको विराटनगरमा आयोजित एक भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज कोशी प्रदेश गठन गरेको छ । स्वयंसेवी रक्तदाता हरिमोहन श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय कोशी प्रदेश तदर्थ कार्य समिति गठन गरेको हो ।
नवगठित कोशी प्रदेश तदर्थ कार्य समितिको सदस्यहरुमा सन्तनु रेग्मी विनायक पन्त कुशेश्वर राजवंशी र वेदप्रसाद संग्रौला चयन गरिएको छ । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपाल सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले निःशुल्क दान गरिएको रगत बिरामीले गुणस्तरीय परिक्षण पश्चात् सहजै र नि:शुल्क पाउनु पीडितपक्षको नैसर्गिक अधिकार रहेको बताउनु भयो ।
कर्माचार्यले नेपाल सरकारकाे रक्त व्यवस्थापनमा भइरहेको कमजोरीका कारण बिरामीहरूले सास्ती भोग्नु परिरहेको छ र सरकारले अवस्था सुधार गर्नुको सट्टा निजी क्षेत्रलाई रगतको कारोबार गर्न दिनु विडम्बनापूर्ण रहेको जिकिर गर्नुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज माेरङ्ग जिल्ला शाखाका सचिव १ सय ६ पटक रक्तदान गर्नुभएका बिजय खतिवडाकाे सभापतित्वमा सम्पन्न उक्त भेलामा सर्वसम्मत् अध्यक्ष चयन हुनुभएका हरिमोहन श्रेष्ठ, दुर्लभ समूहका ६९ पटकका रक्तदान गरिसक्नुभएका विनायक पन्त, ५४ पटकका रक्तदाता वेदप्रसाद संग्रौला लगायतले आफ्ना मानवीय सेवाका प्रेरक अनुभवहरू साझा गर्नुभएको थियो ।



Prawash Kumar Shakya । १७ चैत्र २०८२, मंगलवार ०९:२४ बजे