डोल्पामा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५औँ जिल्ला शाखा गठन

कर्माचार्यद्वारा एक छात्रालाई कक्षा १२ सम्मको छात्रवृत्ति प्रदान


डोल्पा, दुनै । डोल्पा जिल्लामा मानव सेवाको पवित्र अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५औँ जिल्ला शाखा आज औपचारिक रूपमा गठन गरिएको छ ।

भेलाले स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता राजन कुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा दिलमाया के.सी., सचिवमा कर्ण वि.क., कोषाध्यक्षमा मिनराज बुढा (बिबश) चयन हुनुभएको छ ।

त्यस्तै भेलाले सदस्यहरूमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहरा, आनन्द सिंह रावल र चन्द्रराज बुढालाई चयन गरेको छ भने पहिलो बैठकले राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई सदस्यमा मनोनयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त उहाँले रक्तदान जस्तो महान कार्यमा सबैलाई सक्रिय रूपमा जोडिन आह्वान गर्नुभयो । साथै उहाँले समाज सेवाको यो यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि कर्माचार्यले कार्यक्रममा दुनैस्थित ध्रुबतारा आधारभूत विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला बि.क.लाई कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने घोषणा गर्नुभयो ।

जिल्ला अस्पताल डोल्पाका मे.सु. डा. सिजन रावलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको विशेष आतिथ्यता रहेको थियो भने अतिथिहरूमा संग्राम सार्दुल (सेनानी, नेपाल आर्मी), डा. अजय प्रसाद पाण्डे, दीपक राज भट्ट तथा सुवास राना सहभागी हुनु भएको थियो ।