सुर्खेतको वीरेन्द्रनगरमा चैत ११ देखि ‘कर्णाली समृद्धि महोत्सव २०८२’ हुने


९ चैत, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली समृद्धि महोत्सव २०८२’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेत र अभियन्ता मल्टिपर्पसको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।

आज (सोमबार) वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सव आगामी चैत ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएका हुन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने बताइएको छ । महोत्सव अवधिभर भेरी नदीमा र्‍याफ्टिङ र राम्रीकाँडादेखि महोत्सव स्थलसम्म प्याराग्लाइडिङको व्यवस्था गरिएको छ । यसका लागि प्याराग्लाइडिङ पाइलटहरू सुर्खेत आइपुगिसकेको आयोजकले जनाएको छ । महोत्सवमा कर्णालीको मौलिक कला-संस्कृतिलाई उजागर गर्न र स्थानीय व्यापार प्रवर्द्धनका लागि विभिन्न व्यावसायिक स्टलहरू पनि राखिनेछन् ।

महोत्सवले कर्णालीको पर्यटन, कृषि र स्थानीय संस्कृतिलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै प्रतिष्ठान सुर्खेतका अध्यक्ष कवीराज गिरीले कर्णालीको समृद्धिका लागि यो महोत्सव एक कोशेढुङ्गा सावित हुने बताउनुभयो ।