दुई गजल


सीता प्याँकुरेल
   १
तन डढेको छ अनि यो मन डढेको छ
समग्रमा दिनदिनै जीवन डढेको छ

के के न लान्छु भनि मरिमेटी गथ्र्यो सँधै
त्यो लास सँगै खै त कहाँ धन डढेको छ

मुटुमाथि ढुङ्गा राखी शरीर बेच्नेहरु
हररात ती नारीको यौवन डढेको छ

खाद्यान्नको अभावले भोकै छ त्यो कर्णाली
यता तिनको नामको रासन डढेको छ

बिद्रोहको झिल्को सल्काई गएकी छ छोरी
बिचार हैन आमा, मात्र बदन डढेको छ

 २
निदाएको हो ऊ फेरि ब्युँझिनका लागि
लाग्छ बेला नयाँ क्रान्ति जन्मिनका लागि

त्यसैले त त्यो बचपन मलाई प्यारो लाग्छ
लड्दै लड्दै सिक्छ बालक ऊभिनका लागि

अघि बढ्न दिएका हुन् दैबले यी पाऊहरु
कारण छैन म सँग केही रोकिनका लागि

पछि पारी गएको छ आज समयले
बाध्य हुनेछ ऊ भोलि पर्खिनका लागि

यी नयनका भाबहरु पढेर त होला
कालै भएको छ आकाश बर्सिनका लागि

मान्छे जस्तै स्वार्थी छन् ती गुलाबहरु पनि
काँडा साथमै राख्छन् आफु जोगिनका लागि