सीता प्याँकुरेल
१
तन डढेको छ अनि यो मन डढेको छ
समग्रमा दिनदिनै जीवन डढेको छ
के के न लान्छु भनि मरिमेटी गथ्र्यो सँधै
त्यो लास सँगै खै त कहाँ धन डढेको छ
मुटुमाथि ढुङ्गा राखी शरीर बेच्नेहरु
हररात ती नारीको यौवन डढेको छ
खाद्यान्नको अभावले भोकै छ त्यो कर्णाली
यता तिनको नामको रासन डढेको छ
बिद्रोहको झिल्को सल्काई गएकी छ छोरी
बिचार हैन आमा, मात्र बदन डढेको छ
२
निदाएको हो ऊ फेरि ब्युँझिनका लागि
लाग्छ बेला नयाँ क्रान्ति जन्मिनका लागि
त्यसैले त त्यो बचपन मलाई प्यारो लाग्छ
लड्दै लड्दै सिक्छ बालक ऊभिनका लागि
अघि बढ्न दिएका हुन् दैबले यी पाऊहरु
कारण छैन म सँग केही रोकिनका लागि
पछि पारी गएको छ आज समयले
बाध्य हुनेछ ऊ भोलि पर्खिनका लागि
यी नयनका भाबहरु पढेर त होला
कालै भएको छ आकाश बर्सिनका लागि
मान्छे जस्तै स्वार्थी छन् ती गुलाबहरु पनि
काँडा साथमै राख्छन् आफु जोगिनका लागि



Milan Shrestha । १५ चैत्र २०७४, बिहीबार ०७:४२ बजे