
कालिकोट – कालिकोटमा पहिलो पटक आन्द्राको जटिल शल्यक्रिया गरिएको छ । जिल्लाको कोटवाडा गाबिस ३ का ६६ वर्षीय धनमल विष्टको जिल्ला अस्पतालमै आन्द्राको शल्यक्रिया गरिएको हो ।
लगातार नौ दिनदेखि पेट दुख्ने समस्याले थलिएका बिष्टलाई आन्द्रामा प्वाल परेको शल्यक्रिया गर्न विशेषज्ञ टोली, विशेष उपकरण र औषधि आवश्यक हुन्थ्यो । तर, त्यो बिना नै जटिल शल्यक्रिया गरिएको छ ।
बिष्टले गरिबीका कारण बिरामीले सुविधासम्पन्न अस्पतालमा जान नमानेपछि यहीँ शल्यक्रिया गरिएको हो । बिष्टलाई जिल्ला अस्पतालले जिल्लामा उपचार गर्न नसक्ने भन्दै नेपालगन्ज रेफर गरेको थियो । आर्थिक अभावले बिष्टले नेपालगंज जान सकेनन् र जिल्ला अस्पतालमा उपचार जिद्धि गरेका थिए । उनको जिल्ला अस्पतालमा नै उपचार भएको छ ।
बिष्टको जोखिम मोलेरै गरिएको शल्यक्रिया सफल भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘यस्तोखाले अप्रेसन जिल्लामै गरिएको पहिलोपटक हो,’ डा. अलीले भने, ‘बिरामीको अवस्था सामान्य छ ।’
डा. सुमन तामाङ, डा. अलीलगायत चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । ‘उपकरण, औषधि र अन्य व्यवस्था गर्न तीन घण्टा लाग्यो,’ डा. अलीले भने, ‘आन्द्रा फुटेकाले पेटभरि दिसा फैलिएको थियो ।’
जिल्लाबाहिर लैजानुपरेको भए कम्तीमा एक लाख रुपैयाँ खर्च हुनेमा जिल्ला अस्पतालमा सात हजारमै सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोट जनाएको छ ।
साभारः स्वास्थ खबर पत्रिका
Prawash Kumar Shakya । २० जेष्ठ २०७३, बिहीबार १३:५५ बजे