विश्वकर्मा गिरफ्तारीबारे गृहमन्त्रीले भने ‘उनी वान्टेड हुन्, हत्कडी स्वभाविक’


श्रावण २५, चितवन

गृह जिल्ला चितवन आएका गृहमन्त्री रामबहादुर थापालाई शुक्रबार बिहान पत्रकारहरूले भरतपुर विमानस्थलमा सोधे, ‘तपाईं गृहमन्त्री हुँदा तपाईंकै साथी खड्कबहादुर विश्वकर्मा पक्राउ पर्दा हत्कडी किन ?मन्त्री थापाले जवाफ दिए, ‘म गृहमन्त्री हो, समातिएको व्यक्ति कानुन उल्लंघन गर्ने आरोपित हुन् । आरोपितलाई हत्कडी स्वभाविक नै हो ।’

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्टका प्रवक्ता विश्वकर्मा हालै मात्र काठमाडौंमा गिरफ्तार भएका थिए । उनलाई हत्कडीसहित अदालत लगिएको थियो । थापा र बिक कुनै समय एउटै पार्टीमा थिए ।

बिक कानुन उल्लंघन गरेर ध्वंस मच्चाएको र चन्दा असुली गरेका कारण वान्टेड भएकोले पक्राउ गरिएको गृहमन्त्री थापाले बताए । कुनैसमयका आफ्नै सहकर्मीहरूले नेतृत्व गरेको पार्टीसँग संसदबाट आव्हान गर्नु बाहेक वार्ताका विषयमा ठोस काम नभएको उनले बताए । ‘वार्ताका लागि खुला नै छौं । प्रशासनिक रूपमा पनि हामी अगाडि बढ्छौं । कानुन विपरित चल्ने जो सुकै होस समातिन्छन, कारवाही हुन्छ,’ गृहमन्त्री थापाले भने । उनले हालै काठमाडौंमा अपहरणकारीको मुठभेडमै मृत्यु भएको र ‘फेक इन्काउटर’ भनेर हल्ला फैलाएको बताए । कान्तिपुरबाट