रक्तसञ्चार केन्द्रको श्रोत भनेकै स्वयंसेवी रक्तदाताः ढकाल


नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजले यसबर्षको दशैं तिहारको शुभकामना आदान-प्रदान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

सभाको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले स्वयंसेवी रक्तदाता विना रक्तसञ्चार केन्द्र सञ्चालन हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “जतिपनि रक्तसञ्चार केन्द्रहरु छन् ति सबैको श्रोत भनेकै स्वयंसेवी रक्तदाता तथा रक्तदानका क्षेत्रमा काम गर्ने संघसंस्था हुन् । त्यसमा पनि अझ नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले आपतकालिन अवस्थामा विरामीकालागि रक्तदाता तयार गरिदिनु महत्वपूर्ण रहेको छ यस्कालागि समाज कास्की शाखालाई धन्यवाद ।”

त्यस्तै कार्यक्रमका सभापति समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले १ घर १ रक्तदाता जन्माउन अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो “रगत लिनेको भन्दा दिनेको भिड बढाउनु छ त्यस्कालागि सम्वन्धित निकायले चेतना मूलक कार्यक्रम गर्न जरुरी छ ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारी, PDAN केन्द्रका सचिव गोपाल अधिकारी, PHAN केन्द्रका महासचिव सुवर्णराज पन्त, रोटरी क्लब अफ पोखरा भ्यालीका सचिव सन्तोष भण्डारीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सभाले समाजको संसोधित विधान अनुसार कास्की शाखाको सहसचिवमा सन्तोष चापागाई र सदस्यमा सन्तोष भण्डरीलाई चयन गरेको छ ।