विद्यार्थीद्वारा बृद्धाश्रमलाई मुठ्ठीदान


१७ फागुन, सुर्खेत । जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगरमा अध्ययनरत विद्यार्थीले प्रशान्ती बृद्धा आश्रमलाई मुठ्ठी दान गरेका छन् ।

विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको अगुवाईमा विद्यार्थीले शुक्रबार बृद्धा आश्रममै पुगेर मुठ्ठी दानबाट संकलित सामाग्रीसँगै नगद दान गरेका हुन् । विद्यार्थीको पनि सामाजिक उत्तरदायित्व हुन्छ भन्ने भावनाले प्रेरित भएर मुठ्ठीदानबाट संकलित २ क्विन्टल चामल, २० किलो आलु, १५ किलो दाल, ३ लिटर तेलसँगै नगदा ७ हजार रुपैयाँ बृद्धबृद्धालाई प्रदान गरिएको युवा रेडक्रस सर्कलका कार्यवाहक अध्यक्ष शंकर आचार्यले बताउनुभयो ।

उहाँले अध्ययनसँगै सामाजिक गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउन सर्कल मार्फत रचनात्मक तथा सृजनात्मक क्रियाकलाप भई रहने गरेको जनकारी दिनुभयो ।

युवा रेडक्रस सर्कलकै सदस्य विश्लेषा खनालले मानव सामाजिक प्राणि भएकाले समाजसँगको जीवन्त सम्पर्क विना जीवन अधुरो भएको बताउँदै उहाँले हरेक नागरिकले समाज रुपान्तरणका लागि यथाशक्य सामाजिक गतिविधिमा सहभागिता जनाइनु पर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्राचार्य यामबहादुर श्रेष्ठले प्रशान्ती बृद्धाआश्रमको जन नमूना मावि आजिवन सदस्य रहेकाले विद्यायमा अध्ययनरत विद्यार्थीद्वारा समयसमयमा विभिन्न सहयोग गरिरहेको जनाकारी दिनुभयो ।

विद्यालयका १ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीले मुठ्ठीदान कार्यक्रममा सहभागिता रहेकोथियो । मुठठीदान कार्यक्रम सफल बनाउन कक्षा ९, मा अध्ययनरत रुपबहादुर बुढाक्षेत्री, मदन थापा, समीर विसी र सृजना थापामगरले विशेष भूमिका रहेको सर्कलका कार्यवाहक अध्यक्ष आचार्यले बताउनुभयो ।