प्रदेश अस्पताल सुर्खेतमा सेवा प्रवाह सहज बनाउन नयाँ व्यवस्था, प्रयोगशाला र बिलिङ सेवा छुट्टाछुट्टै स्थानबाट सञ्चालन


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन विभिन्न नयाँ व्यवस्थाहरू थप गरेको छ ।

अस्पतालले बिरामी तथा सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने र अस्पतालमा हुने भीडभाड व्यवस्थापन गर्ने उद्देश्यले प्रयोगशाला सेवा र बिलिङ काउन्टरको पूर्वाधार विस्तार गरेको हो ।

नयाँ व्यवस्थाअनुसार प्रयोगशालाअन्तर्गत नमुना संकलन (स्याम्पल कलेक्सन) र रिपोर्ट वितरण (रिपोर्ट डिस्प्याच सेन्टर) का लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ । यसबाट प्रयोगशालामा हुने भीडभाड कम हुनुका साथै बिरामीलाई नमुना दिन र रिपोर्ट लिन सहज हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी आकस्मिक कक्षमा आउने बिरामी तथा रातिको समयमा अस्पतालबाट सेवा लिने सेवाग्राहीको सुविधाका लागि छुट्टै आकस्मिक बिलिङ काउन्टर र रात्रिकालीन बिलिङ काउन्टरसमेत सञ्चालनमा ल्याइएको छ ।

यी नयाँ व्यवस्थाले आकस्मिक अवस्थामा आउने बिरामीलाई बिलिङका लागि अन्य काउन्टरमा जानुपर्ने झन्झट कम हुने र रातिको समयमा पनि सेवा लिन सहज हुने विश्वास गरिएको छ ।

अस्पतालले सेवा प्रवाहमा सुधार ल्याउने अभियानलाई निरन्तरता दिँदै सेवाग्राही तथा सरोकारवालाबाट प्राप्त हुने सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छ ।