सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ पहिलो दिन चार खेल सम्पन्न भएका छन् । आज (मंगलबार) सम्पन्न खेलमा एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको फुल–कोर्ट (५×५) विधातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरले पराजित गरेको छ । एकपक्षीय बनेको खेलमा एपीएफले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो ।
त्यस्तै, फुल–कोर्ट (५×५) कै अर्को प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को झिनो अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा सुदूरपश्चिमले अन्तिमसम्म आफ्नो अग्रता कायम राख्दै जित हात पारेको हो ।
यसैगरी, थ्री–अन–थ्री (३×३) विधातर्फको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई १७–१२ को अन्तरले हराएको छ ।
थ्री–अन–थ्री विधाकै अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मंगलबार महिला बास्केटबलतर्फ पहिलो दिन चारवटा खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिनुभयो ।
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत सञ्चालित महिला बास्केटबल प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।




Prawash Kumar Shakya । ९ मंसिर २०८३, मंगलवार १५:५२ बजे