
सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। मंगलबार कर्णाली रङ्गशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको नेपाल पुलिसले पहिलो हाफमै दुई गोल गर्दै खेलमा आफ्नो पकड बलियो बनायो । पुलिसका लागि धिरेन्द्र शाहले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो ।
त्यसपछि थप आक्रामक बनेको पुलिसका सुजन मगरले खेलको ४६औँ मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता २–० मा पुर्याउनुभयो । पहिलो हाफमा देखिएको पुलिसको उत्कृष्ट तालमेल, आक्रामक खेलशैली र गोल गर्ने क्षमताले कर्णालीलाई दबाबमा राखेको थियो ।
दोस्रो हाफमा भने कर्णाली प्रदेशले खेलमा फर्किने प्रयास गर्दै आक्रमणलाई तीव्रता दिएको थियो । दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि ती अवसरलाई गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफमा कर्णालीले सुधारिएको प्रदर्शन गरे पनि पहिलो हाफमा व्यहोरेको दुई गोलको अन्तर घटाउन नसक्दा घरेलु मैदानमै पराजय बेहोर्नुपर्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल पुलिस क्लबका एक र कर्णाली प्रदेशका दुई खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका थिए ।
यस जितसँगै नेपाल पुलिस क्लबले पुरुष फुटबलमा तीन अङ्क जोड्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको छ ।यस्तै अहिले मधेश प्रदेश र सुदुरपश्चमिबीचको खेल जारी छ ।



Prawash Kumar Shakya । ९ मंसिर २०८३, मंगलवार १६:३४ बजे