
काठमाडौं । रक्तदान, रक्ततत्व तथा रक्तदान सेवाको क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका नेपालका सर्वाधिक शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको शब्द रचनामा तयार भएको रक्तदान जागरण गीत सार्वजनिक भएको छ ।
१८८ पटक रक्तदान गरिसक्नुभएका कर्माचार्यको शब्द रहेको उक्त गीतमा नेपाल आइडल सिजन–५ का विजेता तथा बर्दियाका गायक करण परियारले स्वर दिनुभएको छ। रक्तदानको महत्व, आवश्यकता र मानवीय सेवाको भावनालाई गीतमार्फत आम नागरिकसम्म पुर्याउने उद्देश्यले गीत तयार गरिएको हो ।
वरिष्ठ संगीत संयोजक जीवित जल्मीको संगीत तथा संगीत संयोजन रहेको उक्त गीतको रेकर्डिङ हरिशरण मानन्धरले गर्नुभएको छ ।
रक्तदानलाई जीवन बचाउने महान् मानवीय सेवाका रूपमा स्थापित गर्न तथा आम नागरिकमा रक्तदानप्रति सकारात्मक सोच र जनचेतना अभिवृद्धि गर्न गीतले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
रक्तदान अभियानलाई केवल नारामा सीमित नराखी गीत–संगीतको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म पुर्याउने प्रयासस्वरूप यो जागरण गीत तयार गरिएको हो ।



Prawash Kumar Shakya । ९ मंसिर २०८३, बुधबार ११:४२ बजे