
काठमाडौं, २१ कार्तिक । नियमित रक्तदान अभियानलाई निरन्तरता दिँदै बानेश्वरस्थित रक्तदान चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बानेश्वर उपशाखा, गंगादेवी चूचोल टोल सुधार समिति बुद्धनगर तथा भक्तपुर विकास सहयोग समितिको सहकार्यमा आयोजित कार्यक्रममा २९ जना रक्तदाताले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदानलाई सामाजिक सेवाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।
२०५२ सालदेखि उमेश तण्डुकारको संयोजनमा निरन्तर सञ्चालन हुँदै आएको उक्त अभियानले नियमित रक्तदानमार्फत बिरामीका लागि आवश्यक रगत जुटाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १० का वडाध्यक्ष रामकुमार केसी, वडा सदस्य सतिश तण्डुकार तथा भक्तपुर विकास सहयोग संघका संयोजक किरणराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी २९ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए । नियमित रूपमा आयोजना हुँदै आएको यस अभियानले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउने मानवीय सेवामा निरन्तर योगदान दिँदै आएको छ ।



Prawash Kumar Shakya । २२ कार्तिक २०८३, शनिबार १४:०८ बजे