
सुर्खेत । बाल्यकालमा झुप्रा खोलामा बालुवा–गिट्टी कुटेर सङ्घर्षपूर्ण जीवन बिताउनुभएकी मन्त्री बादीले स्थानीयका समस्या, पीडा र अपेक्षाबारे झुप्राखोलामा बसोबास गर्ने स्थानीय सँग जानकारी लिनुभएको छ ।
छलफलका क्रममा स्थानीयले बालबालिका संरक्षण, महिलाको रोजगारी, दलित समुदायको अधिकार, जग्गाधनी पुर्जा, खानेपानी, विद्युत् तथा बस्ती व्यवस्थापनलगायतका समस्या राखेका थिए ।
मन्त्री बादीले स्थानीयका जायज समस्या समाधान गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरिने बताउनुभयो । बालबालिका संरक्षण, महिला सशक्तीकरण र दलित समुदायको अधिकार सुनिश्चितताका लागि मन्त्रालयले अघि बढाएका कार्यक्रमबारे जानकारी दिँदै उहाँले समुन्नति कार्यक्रममार्फत सीप, तालिम र रोजगारीका अवसर विस्तार गरिने उल्लेख गर्नुभयो ।
दलित अधिकार तथा विकाससम्बन्धी विधेयक, २०८३ र ऐतिहासिक विभेदप्रति राज्यको स्वीकारोक्ति तथा क्षमायाचनासहित सुधारमुखी कार्यक्रम अघि बढाइएको जानकारी दिँदै उहाँले स्थानीयका माग सम्बोधनका लागि सम्बन्धित निकायसँग आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफ्नै सङ्घर्ष र स्मृतिसँग जोडिएको जन्मभूमिका नागरिकका समस्या समाधान गर्नु आफ्नो प्राथमिकता रहेको मन्त्री बादीले बताउनुभयो ।



Prawash Kumar Shakya । २३ कार्तिक २०८३, आईतवार १७:४० बजे