
प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । साथै, भारतीय समकक्षी प्रधानमन्त्री मोदीज्यूसँग भोली मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ ।
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने बताइएको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी यही मंसिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ ।
भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।



Prawash Kumar Shakya । ७ मंसिर २०८३, आईतवार १४:३५ बजे