
मूलधारका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)स्था पना भइ सञ्चालनमा आएको वर्षदिन पुगेको छ । केबल सांगठनिक स्वरुपका आधारमा दुई ठूला बामपंथी पार्टीहरुको संगठन समायोजनका रुपमा मात्रै यो एकता भएको थिएन र होइन पनि ।
केन्द्रस्तरबाट एकता घोषणा गरिदा केबल दुई पार्टी मिलाएर ठूलो पार्टी बनाउने उद्देश्यले मात्रै पार्टी गरिएको होइन भन्ने उद्घोष गरिएको थियो । एकीकृत शक्तिशाली कम्युनिस्ट पार्टी मार्फत तीनै तहका स्थीर सरकार मार्फत कम्युनिस्टको नेतृत्वमा देशले विकास र समृद्धिमा फड्को मार्ने अनि जनताको जीवनस्तरमा चमत्कारिक परिवर्तन आउने विषय एकताबाट गरिएको अपेक्षा थियो र अहिलेपनि त्यो अपेक्षा कायमै छ ।
यी जल्दाबल्दा राष्ट्रिय सरोकारका सवालहरु कार्यान्वयनमा आउन सर्वप्रथम आजको नेकपा संगठन मात्रको नभइ आस्था र विचारमा एकढिक्का भएर खडा हुन जरुरी छ । मन बचन र कर्म सबै कुरामा आधारभूत तहसम्मका कमिटी र कार्यकर्ता पार्टी हितमा कटिबद्ध हुन आवश्यक छ । यसका लागि सबैभन्दा पहिले तल्लो तहसम्मका कार्यकर्ताले पार्टी एकता सैद्धान्तिक र वैचारिक मिलनसहितको हो भन्ने प्रष्ट बुझ्न सक्न पर्छ ।
छुस्स जनताको वहुदलीय जनवादको वा एक्काइसौं शताब्दीको जनवादको विषय कुनै कार्यक्रममा प्रवेश गर्नासाथ केन्द्र नेतृत्वले दोहोरी खेल्नपर्ने र देशव्यापी कार्यकर्तामा तरंग फैलिने विषयले एकता र संगठन व्यवस्थापनमा सहजता पैदा गर्दैन । तत्कालीन पार्टीको तर्फबाट मान्दै आएका मार्गदर्शक सिद्धान्तको विषयमा छलफल वहसले निरन्तरता लिदै जाने क्रममा हामीले जननेता कमरेड मदन भण्डारीले विकास गरेको जनताको बहुदलीय जनवादी कार्यक्रम र प्रचण्ड कमरेडको नेतृत्वमा विकसित एक्काइसौं शताब्दीमा जनवादको विकास भन्ने दुबै कार्यक्रमको सारपक्षमा भिन्नता छैन भनेर बुझ्दा फरक नपर्ला । दुइटै कार्यक्रम समाजवादी कार्यक्रम हुन र दुइटै कार्यक्रम मार्क्स र एङ्गेल्सले विकास गरेकै वैज्ञानिक समाजवादका बिभिन्न रुप मध्येका हुन भन्ने हामी मार्क्सवादका साधारण कार्यकर्तापनि बुझ्न सक्छौ ।
चुनाव चिन्ह सूर्य लिने वा गोलाकार भित्रको हँसियाहथौडा भन्ने विषयलाई टुंगोमा लिएजस्तै गरेर सहजताकै साथ यसलाई पनि निस्कर्ष दिदा पुग्नेछ । एकातिर एकता अनिवार्य ठान्ने र अर्कोतिर मेरै गोरुको बाह्रै टक्का भनेझैं हरेक सवालमा अड्डी थापेर बस्ने कामपनि संगठन निर्माण,व्यवस्थापन तथा एकताको तगारो बनाउने काम हो । संगठन व्यवस्थापन र परिचालनका लागि सबैभन्दा पहिले राजनीतिक कार्यदिशा स्पष्ट हुनपर्छ । गर्नपर्ने पार्टी कामको किटानीसहित आजका अन्तर्विरोधको सही विश्लेषण र पहिचान गरि अघि बढ्ने प्रयत्नले अबको नेकपाको लागि संगठन सही ढंगले हाँक्न सहजता दिनेछ ।
पार्टी केन्द्रका सर्कुलरहरुमा जनताको जनवाद लाइ तत्कालीन कार्यक्रमको रुपमा आत्मसात गर्दै जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाइ महाधिवेशनसम्म छलफलमा लैजाने भनिएको छ । यद्दपी कतिपय कार्यक्रममा व्यानरमै मार्क्सवाद लेनिनवादका साथै माओवाद समेत राखेको देखिदा तत्कालीन एमाले पङ्ति ले लफडा गर्ने र प्रतिक चिन्हको रुपमा सूर्य भित्र हँसियाहथौडा हो भन्ने भुलेर केवल सूर्य मात्रै देख्नासाथ तत्कालीन माकेका कमरेडहरु चुरचुर हुने विषयले निरन्तरता पाउन हुँदैन । सिंगो पार्टीको कार्यदिशा तल्लो तहसम्मका कमिटी र कार्यकर्ता सम्म लैजादै त्यसलाई कार्यान्वयन गर्न बिधान अनुसारको प्रतिबद्ध कमिटी र कमिटी परिचालन आजको नेकपा को सन्दर्भमा आवश्यक छ । पार्टीका रचनात्मक गतिविधिहरुलाइ जनतामा सुहाउँदो जीवनशैलीसहित अभियानका रुपमा अघि बढाउन जरुरी छ ।
पार्टी एकताको वर्ष भएको कारण एकवर्ष माथिबाट नेतृत्व चयन अनिवार्य भएतापनि अबको संगठन निर्माणमा पार्टी सदस्यहरुको अविच्छिन्न अधिकार स्थापित गर्न अपरिहार्य छ । अब आधारभूत तहबाटै निरन्तर रुपमा आयोजक नेताहरु समेत प्रतिनिधिहरुबाट चुनिएर अनुमोदित भइ अधिवेशन हुने प्रक्रियाले प्राथमिकता नपाएमा आजको नेकपा सिधै केन्द्रमुखी बनेर निम्नस्तरका कार्यकर्ता र जनताबाट टाढिनु पर्ने अवस्था पैदा हुन सक्छ । पार्टी संगठन निर्माणमा आवश्यक समावेशीता र सञ्चालन पद्धतिमा जीवन्त बहसको थालनी तथा प्रशिक्षण प्रणालीलाइ तिब्रताको खाँचो छ । आजको नेकपा सञ्चालनमा अनुगमन र मूल्यांकनको पक्षलाई निकै प्रभावकारी बनाउन आवश्यक छ ।
पार्टीका लागि नभएर सेवा सुविधाका काममा बढी समय दिने र नेतृत्वको चाकडी गर्ने गणेश प्रवृत्तिका नेता कार्यकर्ताले स्थान पाउने तर पार्टीको लागि रगत पसिना दिएर अहोरात्र खट्नेहरु पाखा लाग्नुपर्ने स्थिति अन्त्य गर्नु अनिवार्य छ । कुनै कार्यकर्ता पार्टीमा भएकै कारण झनै पार्टी संगठनमा हानी हुनुपर्ने स्थिति छ भने त्यस्ताको समयमै मूल्यांकन गरेर संगठनबाट बिदाइ गर्न राम्रो हुनेछ ।
अहिले हामी निकै ठूलो पार्टी बनिसक्यौ भनेर अस्वस्थ ढंगले आफैभित्र प्रतिस्पर्धा र खिचातानीमा लाग्नपनि जरुरत छैन । पार्टीले समृद्ध नेपाल र सुखी नेपालीको नारा केबल सरकारको विषय हो भन्ने ठान्न हुँदैन । सरकारका नारा र एजेन्डा पार्टीकै र पार्टीको कार्यक्रम र योजनाहरु सरकारकै हुन भन्ने बुझाइका साथ पार्टी र सत्ताबीच मजबुत समन्वयको खाँचो छ । सत्ता र सेवा सुविधा नपाएका कार्यकर्ताहरुले केही वर्षे कार्यविभाजनका क्रममा केही कमरेडहरुले संसदीय क्षेत्रमा जिम्मेवारी पाएका हुन र पछिका कार्यविभाजनमा आफुपनि जानपर्ने स्थिति आउछ भन्दै सत्तालाई जनपक्षीय रुपमा अघि बढाउन सहयोग गर्नु पर्दछ।
हामी कम्युनिस्ट पार्टीका कार्यकर्तामा जीवनशैली कुनैबेलाका सामन्त मोखिया भन्दा फरक छैन ।पार्टीको कुनै कार्यकर्ताले पार्टीमै समर्पित हुँदै जीवन गुमाएको खण्डमा पार्टीको झण्डा व्यवस्था गर्न नसक्ने तरिकाले पार्टी कमिटी नाजुक बनेका छन् । पार्टी नेता,कार्यकर्ता र जनप्रतिनिधि हेलिकप्टर र हवाइजहाँज भोगी बनेका छन् ।
बिचरा पटकौ पटक पार्टीको चुनाव चिन्हमा छाप लगाएको कार्यकर्ताले नाजुक स्थितिमा उपचार समेत गर्न नसक्दा सहानुभूति देखाउने भावना तिनै जिम्मेवार व्यक्तिमा दृख्न सकिन्न । संगठन निर्माण तथा परिचालनका लागि सबैभन्दा पहिले पार्टी सदस्यता व्यवस्थापन तथा अद्यावधिक गर्दै शाखा तथा वडा कमिटी स्तरबाटै कमिटी अधिवेशन का तयारी गर्दै जिल्ला सम्ममा व्यवस्थित पार्टी बनाउन आवश्यक छ ।
हाल एउटै व्यक्ति जिल्ला,प्रदेश र केन्द्र पार्टी कमिटी मात्रै नभइ संसदीय जिम्मेवारी समेत सम्हालेर बस्न परेको अवस्थाको चाँडै निदान जरुरत छ । आजको सन्दर्भमा पहिलादेखिनै पार्टीको झण्डामुनी मात्रै बसेका तर पार्टी सञ्चालन गर्ने विषयमा प्रभावकारी रुपमा नेतृत्व बहन गर्न नसकेका कार्यकर्ता र पार्टीमा अनुभव कम तर नेतृत्व सशक्त ढंगले हाँक्न सक्ने नयाँ पिढी सबैको समायोजनसहितका कमिटी बनाउदा उपयुक्त हुने देखिन्छ ।



Milan Shrestha । ६ जेष्ठ २०७६, सोमबार ११:५४ बजे