पुडासैनी प्रकरण, निष्पक्ष छानविन होस् – प्रगतिशील पत्रकार संघ 


८ भाद्र, सुर्खेत । प्रगतिशिल पत्रकार संघ नेपाल केन्द्रिय समितिले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा निष्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनीक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

संघको केन्द्रीय समितिको यहि भदौ ६ र ७ गते रुपन्देहीमा सम्पन्न बैठकले पत्रकार रवि लामिछाने, युवराज कँडेललाई न्यूज २४ को कार्यालयमै गएर प्रक्राउ गरिएको प्रहरीको कार्यशैलीको विरोध गर्दै निष्पक्ष छानविनको माग गरेको हो ।

बैठक पछि ८ गते आईतबार प्रगतिशिल पत्रकार संघका केन्द्रिय अध्यक्ष नारायण शर्माद्वारा हस्ताक्षेरित प्रेस विज्ञप्तीमा छानविनमा कुनै प्रकारको आग्रह÷पूर्वाग्रह नराखी घटनाका दोषी नउम्किने र निर्दोष नफस्ने गरी अनुसन्धान अगाडि बढाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

यसैगरी संघले रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सडक दुर्घटनामा परी असामयिक निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै मृतक अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । बैठकले प्रगतिशील पत्रकार संघ, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी २०७७ साल जेठभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सम्मेलनलाई लक्षित गरी यही २०७६ भदौ देखि चैतसम्म देशव्यापी संगठनात्मक अभियान सञ्चालन गर्ने, २०७६ असोज मसान्त भित्र सबै जिल्ला समितिहरुको बैठक बसाली आ–आफ्नो जिल्लाको अनुकूलतामा जिल्ला भेला र जिल्ला सम्मेलनको मिति तय गर्ने, २०७६ मंसिर महिना सम्ममा प्रगतिशील पत्रकार संघ नेपालका प्रदेशस्तरीय भेला÷अन्तक्रिया गर्ने निर्णय गरिएको छ । जस अनुसार प्रदेश नं. १ मा असोज पहिलो सातामा, प्रदेश नं. ३ मा भदौको अन्तिम सातामा, प्रदेश ४ (गण्डकी)मा असोजको अन्तिम साता, प्रदेश नं. ५ मा मंसिरको पहिलो साता, कर्णाली प्रदेशमा मंसिरको दोस्रो साता र सुदूरपश्चिममा कार्तिकको अन्तिम सातामा प्रदेशस्तरीय भेला तथा अन्तक्रिया गर्ने निर्णय गरिएको छ ।

जसका लागि ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार रक्षाको प्रश्न’ विषय तय गरिएको छ । यस्तै सरकारले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरु तत्काल फिर्ता गरी सरोकारवाला पक्षहरुसङ्ग छलफल गरेर मात्र अगाडि बढाउन सरकारसँग माग गरिएको छ ।

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सञ्चालन गरेका आन्दोलनहरुलाई हाम्रो संगठनले विगतमा सक्रियतापूर्वक समर्थन गरेकोमा बैठकले अनुमोदन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरु फिर्ता गराउनका लागि महासंघलाई अझै दवाव दिने निर्णय गरिएको छ ।

यस्तै मुलुकमा क्रियाशील अन्य सञ्चार संगठनहरुसँग विगतमा गरिएका गठबन्धन र सहकार्यलाई अनुमोदन गर्दै आगामी दिनमा पनि आवश्यकता अनुसार सहकार्य गर्दै अघि बढ्ने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।