निशुल्क स्यानिटाइजर विक्री गर्ने कमला मेडिसनमा शिलबन्दी


३ बैशाख, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा कोरोना संक्रमणका बेला सरकारलाई निःशुल्करुपमा उपलब्ध गराएको ह्याण्ड स्यानिटाइजर बिक्री गरेको पाइएपछि कमला मेडिसिनलाई शिलबन्दी गरेको छ ।

एसआर नामक ड्रग कम्पनीले निःशुल्करुपमा उपलब्ध गराएको स्यानिटाइजर कमला मिडिसिनले विक्रीवितरण गरिरहेको थियो । एसआर ड्रग कम्पनीले नेपाल सरकार मार्फत स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई निःशुल्करुपमा उपलब्ध गराएको उक्त ह्याण्ड स्यानिटाइजर विक्रि गरिरहेको खबर पाएपछि बाँके प्रहरीले अनुसन्धान थालेको थियो । एसआर केयर ह्याण्ड स्यानिटाइजर ५ सय एमएल प्रतिबोत्तल ६ सयमा बिक्री वितरण गरेको पाइएपछि प्रहरीले उक्त कम्पनीमा छापा मारेर शिलबन्दी गरेको हो ।

एसआर ड्रग कम्पनीले सरकारलाई निः शुल्करुपमा उपलब्ध गराएको ह्याण्ड स्यानिटाइजरको बोत्तलमा विक्रीका लागि होइन (नट फर सेल्स) समेत लेखेको भए पनि अर्को लेवल लगाएर छोपिएको अवस्थामा प्रतिबोत्तल रु ६ सयका दरले विक्री वितरण भइरहेको पाइएपछि प्रहरीले कमला मेडिसिनमा आज बुधबार शिलबन्दी गरेको जनाएको छ ।

सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको स्यानिटाइजर सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीहरुको मिलेमतोमा बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जाल मार्फत गुनासो आए लगत्तै गरेको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले कमला मेडिसिनमा शीलबन्दी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले शीलबन्दीपछि छानविन भइरहेको जानकारी दिनुभयो । सरकारले निःशुल्करुपमा उपलब्ध गराएको स्यानिटाइजर विक्री वितरण गरिरहेको भन्ने सूचना पाए लगत्तै बाँके प्रहरीले मंगलबार बेलुका कमला मेडिसिनमा छापा मारेको थियो । नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको होटेल सिग्नेट इन कृष्णाका मालिकसमेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरेको ड्रग कम्पनीले लामो समयसम्म नेपालका बिभिन्न जिल्लामा औषधी सप्लाई गर्दै आइरहेको थियो । कोरोनाको संक्रमण बढेसँगै कमला मिडिसिन मार्फत ह्याण्ड स्यानिटाइजर अवैधरुपमा बिक्री वितरण भएको पाइएको हो ।