सुर्खेत । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा भेरीगंगा नगरपालिका–१२, छिन्चुमा आयोजित विशेष रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा राष्ट्रियस्तरमा सञ्चालन गरिएको ‘विश्व बन्धुत्व रक्तदान अभियान’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा देउती विद्या मन्दिर, शारदा माध्यमिक विद्यालय, छिन्चु बोर्डिङलगायत विभिन्न विद्यालयका विद्यार्थी, रक्तदाता तथा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी रक्तवीरहरूले रक्तदानमार्फत मानवीय सेवासँगै विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने सन्देश दिएका थिए ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकाल, पूर्व कर्णाली प्रदेशसभा सदस्य अमृता शाही, प्याब्सन नेपाल कर्णाली प्रदेश प्रमुख एवं प्रिन्सिपल नोकबहादुर खत्री, वरिष्ठ कविराज निरीक्षक छवीलाल खड्का, भेरीगंगा जेसीसका अध्यक्ष श्याम परियार, पूर्व अध्यक्ष रामु सुवेदी, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि भट्टराई तथा छिन्चु उपत्यका खानेपानीका अध्यक्ष धर्मराज खड्कालगायतको उपस्थिति थियो ।
कार्यक्रममा रक्तदानलाई केवल रगत संकलनको माध्यम नभई मानव–मानवबीचको प्रेम, सहयोग, सद्भाव र बन्धुत्वको प्रतीकका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमको सहजीकरण भेरीगंगा–छिन्चु शाखा प्रमुख ब्रह्माकुमारी आरतीले गर्नुभएको थियो । कार्यक्रममा संकलित रगतले आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
विश्व बन्धुत्वको भावनालाई व्यवहारमा उतार्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमले छिन्चु क्षेत्रमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै युवापुस्तालाई नियमित रक्तदानतर्फ प्रेरित गरेको सहभागीहरूले बताएका छन् ।





Prawash Kumar Shakya । ५ भाद्र २०८३, शुक्रबार १७:५७ बजे