कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसमा रक्तदान कार्यक्रम


सुर्खेत । कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा महिला तथा पुरुष गरी १९ जनाले रक्तदान गरेका छन् । कर्णाली प्रदेशमा रगतको आवश्यकता पूरा गर्न तथा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्य रहेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले गरेको थियो ।

कार्यक्रममा सहभागी रक्तदाताहरूले नियमित रक्तदानमार्फत दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण रगत आवश्यक पर्ने बिरामीको जीवन बचाउन सहयोग पुग्ने भन्दै स्वस्थ व्यक्तिहरूलाई रक्तदान गर्न आग्रह गरेका थिए ।

कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसजस्तो महत्वपूर्ण अवसरलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको रक्तदान कार्यक्रमले स्वयंसेवी रक्तदानको महत्वलाई थप उजागर गरेको आयोजकले जनाएको छ ।