वीरेन्द्रनगरमा ब्रह्माकुमारीजको रक्तदान अभियान, ५२ पिन्ट रगत संकलन


सुर्खेत । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिज्यूको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजित राष्ट्रियव्यापी विश्व बन्धुत्व रक्तदान अभियानअन्तर्गत वीरेन्द्रनगरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज वीरेन्द्रनगर नगरपालिका–६ स्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको सुर्खेत शाखामा आयोजित कार्यक्रममा ५२ जना रक्तवीरहरुले रक्तदान गर्नुभएको छ ।

कार्यक्रम वीरेन्द्रनगर केन्द्रकी प्रमुख ब्रह्माकुमारी विष्णुको अध्यक्षतामा सम्पन्न भएको हो । वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका इन्चार्ज देपेन्द्र केसी, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव ब्रह्माकुमारी कृष्णबहादुर रानाभाट, नेपाल स्वयंसेवी रक्तदाता समाजका सुर्खेत केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सर्रवाधिक रक्तदाता प्रवास कुमार शाक्यलगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा ब्रह्माकुमारीजसँग आबद्ध सदस्य, स्वयंसेवी रक्तदाता तथा सर्वसाधारण रक्तवीरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यमका रूपमा अघि बढाउँदै नियमित रक्तदानमार्फत समाजमा भ्रातृत्व, सहकार्य र मानवीय सेवाको भावना अझ सुदृढ बनाउन अभियानले प्रेरणा दिने जनाएको छ ।