काठमाण्डौंमा सुदूरपश्चिम सरोकार मञ्चद्वारा रक्तदान कार्यक्रम


श्रावण ३०, काठमाडौँ — प्रतिकूल मौसम र अविरल वर्षाका बीच काठमाडौँको बानेश्वरस्थित चक्कु बख्खु पार्कमा सुदूरपश्चिम सरोकार मञ्चले पहिलोपटक आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ । कार्यक्रममा २७ जना महिला तथा पुरुषले स्वस्फूर्त रूपमा रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्घाटन नेपालका सर्वाधिक शतक स्वयंसेवी रक्तदाता, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले गर्नुभएको थियो । उद्घाटनका क्रममा कर्माचार्यले ३५औँ पटक रक्तदान गर्न लाग्नुभएका राजन बिडारीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान अभियानको औपचारिक सुरुवात गर्नुभएको थियो ।

वरिष्ठ समाजसेवी तथा रक्तदान अभियानका सक्रिय अभियन्ता जगदीश के.सी.को संयोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम सरोकार मञ्चका अध्यक्ष डा. दीर्घ सिंह बमले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य सुशील घर्ती तथा डोटेली समाजकी कार्यवाहक अध्यक्ष करुणा शाहीलगायत विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवामध्ये एक भएकाले यस्ता अभियानले आवश्यक परेको समयमा रगतको अभाव कम गर्न सहयोग पुग्ने आयोजकहरूको विश्वास छ। सुदूरपश्चिम सरोकार मञ्चले आगामी दिनमा पनि रक्तदानलगायत सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।