नृत्य निर्देशक संघ नेपालले आफ्नो ११औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । स्थापना दिवसको अवसरमा संघले रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै पहिलोपटक संघको लोगो गीतसमेत सार्वजनिक गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले स्वयंसेवी रक्तदातालाई रक्त संकलन थैली हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो ।
नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा ९४ वर्षीय नृत्यदेव भैरवबहादुर थापाले विशेष अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार, संगीत संयोजक तथा गायक जीवित जल्मी, केन्द्रीय रक्तसञ्चार सेवा समितिका निर्देशक पवनकुमार गुप्ता, कमल राई, राजु शाह, चन्द्रमान मुनिकार, जोगेन्द्र के.सी. तथा आर.सी. कोइरालालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शारदा सोती शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण देवराज गुरुङले गर्नुभएको थियो ।
यस्तै नृत्य निर्देशक संघ नेपालको स्थापना भएको ११ वर्ष पुगे पनि हालसम्म संघको औपचारिक लोगो गीत तयार हुन सकेको थिएन । स्थापना दिवसकै अवसर पारेर संघको लोगो गीत लोकार्पण गरिनुले यस वर्षको स्थापना दिवसलाई थप विशेष, महत्वपूर्ण र ऐतिहासिक बनाएको आयोजकले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रेमसागर कर्माचार्यले रक्तदान गर्ने सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा ९४ वर्षीय नृत्यदेव भैरवबहादुर थापा तथा वरिष्ठ संगीतकार, संगीत संयोजक एवं गायक जीवित जल्मीलाई प्रमुख अतिथिबाट सम्मान–पत्र प्रदान गरी सार्वजनिक सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका सभापति भुवनदास श्रेष्ठले मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गर्नुभएको थियो । ११औँ स्थापना दिवसको अवसरमा सम्पन्न रक्तदान, सम्मान तथा लोगो गीत लोकार्पण कार्यक्रमले नृत्य क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई एकै ठाउँमा जोड्नुका साथै कला, संस्कृति र मानवसेवालाई सँगसँगै अघि बढाउने प्रतिबद्धता पनि प्रस्तुत गरेको छ ।
गितमा संगीत/स्वर : जीवित जल्मीको रहेको छ भने गीतको रचना प्रेमसागर कर्माचार्यले गर्नुभएको हो ।
नृत्य निर्देशक संघ नेपाल लाेगाे गीत !
नृत्य सिकाउनेहरूकाे यो साझा थलाे हाे
निर्देशक बन्न निरन्तरता दिनेहरूकाे
संघमा आबद्ध भई संगठित हुनेहरूकाे
नेपाल देश नेपाली साझा फूलबारीकाे
नृत्य भावबाट संस्कृति बचाउनेहरूकाे
नृत्य हाम्रो अभिमान यही हाे हाम्रो शान
याे हाे , याे हाे ,यो हाे , यो हाे !
नृत्य निर्देशक संघ नेपाल नृत्य निर्देशक संघ नेपाल
जय डीडान जय डीडान जय डीडान जय डीडान




Prawash Kumar Shakya । २७ श्रावण २०८३, बुधबार ११:३९ बजे