
१२ पौष, सुर्खेत । राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गर्दै आज वीरेन्द्रनगरमा पत्रकारहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ ।
केन्द्रिय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका पत्रकार तथा सञ्चारकर्मी हरुसंग “सञ्चार तथा प्रचार प्रसारकालागि सञ्चारकर्मीसंग अन्तरक्रिया” कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जनगणना शुरु हुन १५ महिना बाँकी छ भनेर चुप लागेर बस्न नहुने तयारी अहिलेबाट नै गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तथ्याङ्क विभागका निर्देशक डुण्डीराज लामिछानेले यसपटकको जनगणनामा “मेरो गणना, मेरो सहभागिता” नारा लिएर जनगणना पृथक हुने बताउनुभयो । उहाँले भन्नुभयो । यो जनगणनामा सामुदायिक प्रश्नावली, घरको गणना लगाएत नवीनतम प्रविधीको प्रयोग गरिने छ । साथै यो जनगणना १२ औं एवं गणतान्त्रिक नेपालको पहिलो जनगणना हो । यसमा पशुपंक्षीहरुको समेत पूर्ण गणना हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल र पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष माया थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसपटकको जनगणनामा ५३ हजार ४ सय १३ जनाको जनशक्तिले गणना गर्नेछन् भने यही २०७६ माघ १ गतेबाट चैत्र मसान्त भित्र नमुना जनगणना गरिने बताइएको छ ।



Milan Shrestha । १२ पुष २०७६, शनिबार २१:४२ बजे