सामाजिक दुरी कायम गर्न वडा अध्यक्षको आग्रह


२१ चैत्र, सल्यान । राहात सामग्री वितरण संगै सल्यानको कपुरकोट गाउँपालिकाले कोरोनाको संक्रमणबाट बच्न वडा स्तरमा सतर्कताका कदमहरु अगाडी बढाउदै लगेको छ ।

विपन्न नागरिकलाई राहत सामग्री लगेर वडाहरुमा पुगेका गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कोरोनाबाट बच्न सामाजिक दुरी कायम राख्न आग्रह गर्दै आउनुभएको छ । आज शुक्रबार वडा नम्बर ३ का ३६ घरपरिवार र वडा नम्बर ४ का २२ घरपरिवारलाई चामल, नुन, तेल, साबुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै अध्यक्ष सेनले विपन्न नागरिकलाई मास्क पनि वितरण गर्नुभएको छ ।

अध्यक्ष सेनले सामाजिक दुरी भनेको एक अर्काबाट टाढा रहनु भएको जनाउदै एकै ठाउँमा जम्मा हुनबाट जोगिनु नै कोरोनाबाट बच्ने उपाय भएको बताउँदै स्थानीय सरकारले सडक, खानेपानी, विद्युत जस्ता भौतिक निर्माणका काम देखी रोग र भोकमा परेका नागरिकलाई बचाउनु पनि दायीत्व भएकाले दुई छाक टार्न पनि मुस्कील हुने नागरिकलाई वडा कार्यालयको सिफारिस अनुसार राहत वितरण कार्य भइरहेको जनाउनुभयो ।

वडा नम्बर ३ मा भएको कार्यक्रममा वडा अध्यक्ष मिन बहादुर सेनले घरमा पाहुना बोलाउने वा अरुकोमा पाहुना जाने कार्य बन्द गर्न आग्रह गर्नुभयो । यस्तै नेकपा कपुरकोट ३ का अध्यक्ष भुवनेश्वर गौतम, नेपाली काग्रेस कपुरकोटका सह सचिव कृष्ण धिताल लगाएतले गाउँपालिकाले गरेको राहत वितरण कार्य सहरानीय भएको बताउदै सबै नागरिकले सरकारले गरेको लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । वडा नम्बर ४ मा भएको कार्यक्रममा वडा अध्यक्ष हरिलाल पुन, नेकपाका वडा कमिटी अध्यक्ष मित्रलाल कठायत लगाएतले बोल्दै कोरोनाबाट बच्न सबै सतर्क रहनुपर्ने बताएका थिए ।

विदेशबाट फर्किएका ३१ जनाको घरदैलोमा स्वास्थ्यकर्मी

यसैविच शुक्रबार सम्म विदेशबाट फर्किएका ३१ जनाको घरमै गएर उनीहरुलाई होम क्वारेन्टाईनमा बस्न लगाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताउनुभएको छ । भारत, साउदी अरव, मलेसीया लगाएतका देशबाट फर्किएर आएकाहरुको घरमै पुगेको र नियमित रुपमा फोन सम्पर्क गरेर सतर्क रहन, सावधानी अपनाउन आग्रह गरी स्वास्थय अवस्थाको बारेमा जानकारि लिइएको बताउनुभयो । हाल सम्म कुनै पनि ब्यक्तिमा समस्या नदेखीएको पनि दाहालले जानकारी दिनुभयो ।