
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले अथाह सम्भावना भएर पनि सोच र प्रवृत्तिका कारण कर्णालीले विकासमा पछि पर्नुपरेको बताउनुभएको छ । उहाँले युवा शक्तिले मात्र यो अवस्थालाई बदल्न सक्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘द रेस्पोन्सिबल अर्ड्स’ले वीरेन्द्रनगर-९, लाटीकोइलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले भन्नुभयो, “कर्णालीसँग सबथोक छ, तर हामी सुनको थालमा भिख मागिरहेका छौं । हामीभित्रै एकले अर्कालाई खुइल्याउने र कमजोर बनाउने प्रवृत्ति छ, जसकारण केन्द्रले हामीलाई हेर्ने दृष्टिकोण कहिल्यै सकारात्मक बन्न सकेन।”
उहाँले नेपाल प्राकृतिक रूपमा विश्वकै धनी देश भएको तर त्यसको सदुपयोग हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । “अरू देशहरू लाखौं खर्च गरेर रुख रोप्छन्, हामी प्रकृतिले दिएका लाखौं रुख काटिरहेका छौं,” उहाँले भन्नुभयो, “हामी डिजिटल युगमा छौं, अब देश बनाउने जिम्मा युवाकै काँधमा छ । पुराना पुस्ताको होश र युवाको जोशको सम्मिश्रणले मात्र देशले काँचुली फेर्छ ।”

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले युवा भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदारसमेत भएको बताउनुभयो । “युवालाई केवल भविष्यको जिम्मा दिएर हुँदैन, वर्तमान विकासको हरेक प्रक्रियामा उनीहरूको सहभागिता अनिवार्य छ,” उहाँले भन्नुभयो, “युवाको जोश, जाँगर र परिपक्व नागरिकको अनुभवलाई सँगै लिएर अघि बढ्दा मात्र देशले सही गति लिन्छ।” उहाँले युवाहरूलाई आफ्नो परिवार, समाज र राष्ट्रप्रति प्रतिबद्ध बन्न आग्रह गर्दै राष्ट्रिय भावनाले ओतप्रोत भएर आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गर्नुभयो ।
‘भैरव युवा सशक्तीकरण’का अध्यक्ष ललित भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युवाहरूको भूमिका र देश विकासका चुनौतीबारे गहन विमर्श गरिएको थियो । त्यस्तै कार्यक्रममा द रेस्पोन्सिबल अड्सका कपिलनाथ योगी लगाएका यूवाहरुको उपस्थिति रहेको थियो ।



Prawash Kumar Shakya । २७ श्रावण २०८२, मंगलवार १४:५५ बजे