४ बैशाख, नेपालगन्ज । सरकाले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै देशलाई लकडाउनको स्थितीमा राखेको छ । बाँके प्रशासनले जिल्लामा जनता कर्फ्यू जारी गरेको छ । नेपालगन्ज शहरभरी जताततै तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को रोकथामका लागि बाँकेस्थित स्थानीय तह, बाँके प्रशासन प्रहरी, आम सञ्चारकर्मी स्वास्थ्यकर्मी यो वा त्यो ढंगबाट लागि परेका छन् । तर, बाँकेको नेपालगन्जका कतिपय स्थानमा लकडाउनको कुनै प्रवाह छैन् ।
दिउँसोमा गर्मी बढेको कारण यहाँका नागरिक घरभित्रै बस्ने गरेका छन् । तर, विहान र बेलुका पाँच बजेपछि नेपालगन्जको सुर्खेतरोड बाहेकका अधिकाशं भित्रि सडकमा मानिसको भीडभाड उत्तिकै देखिदै आएको छ । पछिल्ला दिनमा प्रहरीले पनि ‘म हाने जस्तो गर्छु, त रोए झै गर भने झै’ सडकमा जति मानिसको भीड देखिएपनि केबल साइरन बजाउने र एकछिन भगाउँने भन्दा अरू कडाई गर्न छोडेको आमनागरिकको बुझाई छ । नेपालगन्जमा हरेक दिन विहान र बेलुका पाँच बजेपछि लकडाउनको उल्लंघन भइरहेको छ । यसमा बाँके प्रशासन तै चुप मै चुपको अवस्थामा देखिएको छ । यहाँ काम नभएका व्यक्तिहरूले पनि तरकारी, औषधी, खाद्यान्न खरिद गर्ने बहानामा पुराना औषधीका पर्चा भोकेर परिचपयपत्र झुण्डाउँदै बजार घुम्ने गरिरहेका छन् ।
बजार घुम्ने बहानामा कतिपय व्यक्ति प्रशासन र प्रहरीलाई झुक्काउँदै सडकमा देखिने पशु जनावरलाई खाना खुवाउनेसम्मको नाटक गर्न पुगेका छन् । यी र यस्ता नाटककारहरू यसअघि कहि कतै देखिएका थिएनन् । सम्भावित भयावहक अवस्थालाई रोक्न जारी गरिएको लकडाउन नेपालगन्जमा भने शुरुदेखि नै साँझपख प्रभावहीन हुँदै आएको छ । प्रहरीको सक्रियता बढेसँगै केही दिनअघि अलि कम भएको लकडाउन उल्लघन फेरी उत्तिकै बढेको देखिएको छ । मानिसहरु तोकिएको सामाजिक दुरी समेत कायम नगरी पसलमा सामान किन्दै गरेका भेटिन्छन् । सार्वजनिक सवारी बाहेक अधिकाश सवारी गुडिरहेका देखिन्छन् ।
सुरक्षाकर्मीले रोक्दा यो वा त्यो वहाना बनाउने समेत धेरै छन् । नेपालगन्जको त्रिभुवनचौक सदरलाइन, हस्पीटलरोड सुर्खेतरोड लगायतका क्षेत्रमा सडक पेटी र किनारामा गरिने तरकारी बिक्री तथा बजारमा बाहिर सटर बन्द गरेर भित्र संंचालन हुने मदिरा व्यापार कोरोना संंक्रमणको उच्च जोखिम रहेको स्थानीय जानकारहरूको भनाई छ । मानिस घुम्ने मनशायका साथ घर बाहिर आउने गरेका छन् बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भन्नुभयो ‘आबश्यक नभएपनि थोरै तरकारी र रुघाखोकीको औषधी किन्ने बहानामा प्रहरीको आँखा छल्ने धेरै भेटिन्छन् ।’ यो रोकथाम गर्न आबश्यक देखिएको छ । बाँकेको नेपालगन्जको अवस्था यस्तो छ । यहाँका अन्य पालिकामा पनि समसया उस्तै हो ।



Milan Shrestha । ४ बैशाख २०७७, बिहीबार १९:४३ बजे