
सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् ।
बुधबार बिहान सम्पन्न फुल–कोर्ट (५×५) विधाका दुई खेलमा दुवै टोलीले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी भएका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को स्कोरले पराजित गर्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस क्लबले सुरुदेखि नै आफ्नो पकड कायम राख्दै २३ अंकको अन्तरमा जित निकालेको हो ।
त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि फराकिलो जित दर्ता गरेको छ । सुदूरपश्चिमले मधेशलाई ४७–३ को भारी अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन प्रस्तुत गरेको हो ।
महिला बास्केटबलतर्फ बुधबार दिउँसो ३×३ विधाका खेलहरू सञ्चालन हुने कार्यक्रम रहेको छ ।



Prawash Kumar Shakya । ९ मंसिर २०८३, बुधबार १२:४५ बजे