अहिलेको काम भनेको महामारीबाट जनतालाई बचाउनु होः मुख्यमन्त्री शाही


२७ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेको सरकारको मुख्य काम भनेको यो महामारीबाट जनतालाई बचाउनु नै रहेको बताउनुभएको छ ।

नेपाल जेसीज-२०२० को राष्ट्रिय अभियान “मेरो देश म आँफै बनाउँछु” को ज्ञापन पत्र ग्रहण गर्दै यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहीले भन्नुभयो “हामीले अनुमान गरे भन्दा धेरै नागरिक भारतबाट नेपाल फर्किएकाले अहिले समस्या भएको हो । यो आपतकालीन अवस्थामा व्यवस्थापन गर्न कठिनाइ भएको छ । त्यसैले सबैले सावधानी अपनाएर काम गर्नुपर्ने समय हो ।”

“राज्यको काम भनेको वातावरण तयार गर्नु हो तर यहाँ बहानाबाजीले गर्दा काम भएको छैन । सामन्तबादी सोच त्यागेर नयाँ सोचका साथ काम गर्नुपर्छ जुन यूवाहरुको स्पीड हो ।” मुख्यमन्त्री शाहीले भन्नुभयो । आफ्नो ठाँउमा काम गर्न लाज मानेको कारणले भारत गएका जनता यतिवेला महामारीको अवस्थामा फर्किनु भएको छ । त्यसैले लाजलाई फालेर स्वदेशमा नै काम गरि  रोजगारीको सिर्जना गर्न सकिन्छ ।”

कार्यक्रममा मुख्यमन्त्री शाहीले सम्पूर्ण यूवाशक्तिहरुलाई हल्लाको पछाडी नलागी एकजुट भएर नयाँ किसिमको कार्य योजना बनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य (खड्का) र निवर्तमान अध्यक्ष लक्ष्मी कार्की प्रधान (सिया)ले मुख्यमन्त्री शाहीलाई जेसीजको राष्ट्रिय अभियान “मेरो देश म आँफै बनाउँछु” को ज्ञापनपत्र पेश गर्नुभएको थियो ।