कोपिला भ्याली सेवा समाजद्वारा रक्तदान कार्यक्रम, २५ पिन्ट रगत संकलन


सुर्खेतको वीरेन्द्रनगरमा कोपिला भ्याली सेवा समाजको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन गरिएको छ । पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका अवसरमा कोपिला भ्याली सेवा समाजका अध्यक्ष गोगनबहादुर मल्लले प्रदेश अस्पतालमा रगत अभाव भएको जानकारी नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाबाट प्राप्त भएपछि छोटो समयमै रक्तदान कार्यक्रम आयोजना गर्न सफल भएको बताउनुभयो । उहाँले यस्तो मानवीय कार्यमा सहभागी हुन पाउनु समाजका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो ।

त्यस्तै, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाका अध्यक्ष अशोक कुमार सिंहले विद्यार्थी तथा युवा वर्गलाई रगत र रक्ततत्वको महत्वबारे जानकारी गराँउदै कोपिला भ्यालीमा कार्यरत कर्मचारीसहित अन्य स्वयंसेवी रक्तदाताबाट रगत संकलन गरिएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले रगतको अभाव केही हदसम्म कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता (८९ पटक) प्रवाश कुमार शाक्यले समाजमा “रक्तसञ्चार केन्द्रमा सधैं रगत उपलब्ध हुन्छ” भन्ने गलत सोचलाई चिर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “रक्तसञ्चार केन्द्रमा रगत स्वयंसेवी रक्तदाताले रक्तदान गरेपछि मात्र उपलब्ध हुने हो। त्यसैले १८ वर्ष उमेर पूरा गरेका सम्पूर्ण स्वस्थ युवायुवतीलाई रक्तदानमा सक्रिय हुन म आग्रह गर्दछु। रगत चाहियो भने अरूबाट मात्र लिने सोच त्यागेर, सबैले मानवीय जीवनको महान कार्य—रक्तदान—गर्नु आवश्यक छ, किनकि रगतको कुनै विकल्प हुँदैन।”

कार्यक्रममा कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले रक्तदान जस्तो पुण्य र मानवीय कार्यमा सहभागी हुन पाएकोमा गर्व महसुस भएको बताउनुभयो। उहाँले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।