
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र संघीय सरकारकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीबीच मुख्यमन्त्री कार्यालयमा शुक्रबार भेटवार्ता भएको छ ।
भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका समग्र खराब सूचाङ्कहरूमा सुधार ल्याउन संघीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्री शाहीले कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता गम्भीर खराब सूचकांकहरूलाई सुधार गर्न संघीय सरकारले नियमितभन्दा पनि विशेष प्रकृतिका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संघीय सरकारकी मन्त्री स्वयं कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्नुहुने भएकाले यस विषयमा विशेष चासो दिनुपर्ने उहाँको आग्रह थियो । त्यसैगरी, हालैका वर्षहरूमा ठूलो चुनौतीका रूपमा देखा परेको किशोर-किशोरीहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री शाहीले यस क्षेत्रमा ठोस पहल गर्न मन्त्री बादीको ध्यानाकर्षण गराउनुभयो ।
भेटघाटमा संघीय मन्त्री सीता बादीले कर्णालीको समग्र सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताउनुभयो । उहाँले हाल कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको समेत जानकारी गराउनुभयो ।
सोही भेटघाटमा प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले यहाँको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि काम भइरहेको र यसका लागि संघीय सरकारको निरन्तर सहकार्य र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता बैठक तथा भेटघाटहरूलाई नियमित र परिणाममुखी बनाउनुपर्ने धारणा राख्नुभयो ।



Prawash Kumar Shakya । २१ कार्तिक २०८३, शुक्रबार १५:५२ बजे