आफ्नो विवेक सम्मत निर्णयले मतदान गरौँ- भिक्षु आनन्द


भिक्षु आनन्द

यतिखेर देशैभर चुनाबको माहोलले तातेको छ । आ-आफ्ना चुनाबी एजेन्डा बोकेर जनतलाई विश्वास दिलाउन उम्मेदवारहरु जनताको घर-घरमा, दैलो-दैलोमा धाउन्दैछ; मानौ जिन्दगीभरको दुख र पीडा बुझ्न भगवान नै आएका जस्ता ! हँसिलो मुहार, दण्डवत हातले निहुरिएका शीरले अहिलेको अहिले नै घर-परिवारकै सबै दुख पीरमर्का तार्न आएका जस्ता !

यो देशका जनताले विगतमा विभिन्न चरणमा चुनाबमा भागलिंदै आएका छन् । अहिलेको चुनाब पनि नेपाली जनतालाई कुनै नौलो अनुभव त पक्कै होइन तर एउटा कुरा चाहिं खट्केको छ, जुन चुनाबमा जसलाई मत दिएपनि देश र जनाले चाहेको आमूल परिवर्तन सहितको आर्थिक, सामाजिक पुन :संरचना र विकास अधुरो र अपुरो नै छन् । बिगतमा ठुल्ठुला राजनैतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा खासै परिवर्तनभएको देखिंदैन । देश र जनता आर्थिक-सामाजिक समस्याबाट डामकै छन्  । देशले बहुप्रतिक्षित आमूल परिवर्तन सहितको मुहार देख्न पाएको छैन । तेसैले चुनाब, जनताको मनमा एउटा वितृष्णाको कारण पनि बनेको छ ।

पार्टी र नेता देशकै केन्द्रिय तथा संवेदनशील बिषयमा कतिको इमान्दारी छन् भनेर बुझेर मात्र भोट हाल्दा तपाइंको मत खेर नजाने मात्र होइन देश बदल्ने स्वच्छ छविका इमान्दार नेता, देश र जनताले पाउने निर्णायक मत साबित हुनपुग्छ । चुनाब पछि सधै जस्तो जनता नराम्रोसंग इच्छाभंग (frustrate) भएको कारक-तत्वहरु भनेकै चुनाब अघि मतदाताले ठुलै आशा गरेको देश र जनताको मूलभूत जल्दोबल्दो बिषयलाई इमान्दारिकासाथ समाधान गर्न नसक्नु र “जुन जोगी आएपनि कानै चिरेको” उखान चरितार्थ हुनु !

जनताको जनजीवन र देशकै रुपरेखा बदल्नसक्ने यसपालिको चुनाबमा पनि जनताको निर्णायक भोट कसलाई दिनुपर्छ भनेर जिम्मेवारीपूर्वक आ-आफ्नो बिबेकले आत्म-समीक्षा गरि भोट हाल्ने सुझाब र संदेशनै यो लेखको अभिप्राय हो

१ राष्ट्रियताको सवाल :

भौमिक-अखंड़ता, सार्वभौमसम्पन्नता, स्वतन्त्र र स्वाधीनता देशको राष्ट्रियताको मेरुदण्ड मात्र होइन कुनै हालतमा पनि कुनै अन्य देशसंग कदाचित सम्झौता हुन नसक्ने राष्ट्रियताको जग पनि हो । कुनैपनि स्वतन्त्र देशको अटल, अखण्ड, अविछिन्न, अविभाज्य भौमिक अखण्डतानै स्थायित्व, समृद्धि र बिकासको मजबूत आधारशीला हुन । हाम्रा पिता-पुर्खाले आर्जेका बिशाल नेपाल (ग्रेटर नेपाल) सन् १८१५ असमान सन्धिपछि दुइ-तिहाइ भू-भाग गुमाएर वर्तमान नेपालमा सीमित हुन पुगेको हो । बीर पुर्खाले आफ्ना रगत-पसिनाले पूर्वमा तिष्ठा, पश्चिममा किल्ला-कांगडा पारगर्दै सतलजसम्म बिशाल नेपाल खडा गरेका थिए । तत्कालिन बेलायती शक्तिशाली साम्राज्यसंग समेत न झुके न सम्झौता परस्त नै भए । ती पुर्खाहरु देशको स्वाभिमान, स्वतन्त्रता, भौमिक अखण्डता जब जब खतरामा परे तब तब देशभक्ति र राष्ट्रप्रेमले ओतप्रोत मातृभूमि बचाउन जुनसुकै बेला प्राण आहुति गर्न तत्पर थिए ।

१८१५ र १९५० को असमान सन्धिपछि नेपालले आफ्नो दुइतिहाइ भूभाग गुमाउनु परेको मात्र होइन नेपालले भारतको उपनिवेशको परिस्थिति भोग्नुपर्यो । अहिले पनि सुस्ता, टनकपुर, कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र होइन सयौंको संख्यामा सीमा-अतिक्रमनको चपेटाले नेपाल खुम्चिने क्रम जारि छ ।

चुनाबी मैदानमा उत्रिने र बिजयी हुने नेता वा जनप्रातिनिधिहरुले नेपालको राष्ट्रियतासंग जोडिएका भौमिक अखण्डता, सार्वभौमिकता, सम्प्रभुता, स्वतन्त्रता र स्वाभिमान सम्बन्धि जल्दोबल्दो मुद्दाहरु सम्बन्धमा भारतसंग सम्झौतापरस्त नभई सीमा बिबादको मुद्धा स्पष्ट अडानका साथ राख्न सक्छ कि सकिंदैन हेर्न बाकि नै छ । चुनाबमा जनताको घर-दैलो गएर राष्ट्रियता र देशभक्तिको गीत गाएर अब जनता झुक्याउन सक्ने स्थिति छैन । किनभने विगतमा नेपालले गुमाएका हजारौ बिघा जमीन खोसिंदा, अतिक्रमन हुँदा, सीमाक्षेत्रका नेपालीलाई भारतीय पक्षले हत्या, लूट, बलात्कार गर्दा, बस्ती बस्तीनै आगो लगाएर अत्याचार गर्दा, सत्तामा पुगेका कुनै पनि नेताले, राष्ट्रिय नेतृत्व सम्हालेका नेता वा पार्टीले सरोकारपक्ष भारतसंग कहिलेपनि राजनैतिक रुपमा समस्या समाधान गर्ने हिम्मत देखाएन ‌। पछिल्लो समयमा महाकाली नदीमा भारतीय सेनाको कारण ज्यान गुमाएका धामी-प्रकरण यसको ज्वलन्त उदाहरण हो । अहिलेसम्मको अनुभवले नेपालको भुमि जोगाउने र गुमेका भुमि पुन: प्राप्तिको लागि नेपाली नेतृत्वले भारतसंग वार्तामा अडान लिएर न स्पष्ट मुद्दा उठाउन सफल भए न पुन:प्राप्तिकोलागि ठोस कार्ययोजना प्रस्तुत गर्न सफल नै भए । मातृभूमिको जमीन एक इन्च पनि खोस्न नदिने चुनाबी-भाषण ठोक्ने नेता वा जनप्रितिनिधिहरु सत्तामा पुगेपछि गुमेको देशको भूमि एकातिर पन्छाएर आफ्ने निजि भूमि र निजि महल खडा गर्नेमा नै ब्यस्त हुन्छन ।

सार्वजनिक जग्गा हत्याउने देखि बालुवाटार जग्गा-प्रकरण मुद्दा यसका ज्वलन्त उदाहरण हुन् । राष्ट्रियताको सवालमा अब आउने जननेता कसलाई चुन्नु पर्छ- मतदाताले मतदान गर्नु अगाडी दुइचोटी सोच्नु पर्ने अवस्था छ । राष्ट्रप्रेम, देशभक्त र राष्ट्रियगौरब त गौतम बुद्धले उद्गार गरे जस्तै : ” मातृभूमिबाट बहेको हावासमेत मलाइ प्रियकर र सुखदायक” भनेजस्तै हाम्रो नशा नशामा बहने देश प्रेम र अनुराग हो ।

२ राष्ट्रिय धर्म र संस्कृतिको संरक्षण:

देशको गौरब, पहिचान भनेकै हजारौ बर्षदेखि जनताको रगत, नशा, आत्मामा समाहित आफ्नो धर्म, संस्कृति, सभ्यता, कला, साहित्य, भाषा, भेष-भुषा, जीवनशैली हो । नेपाल, बिस्वमा कहीं नभएको हिन्दु र बौद्ध धर्मको बिशिस्ट शिष्टाचार र सभ्यताको संगमस्थल हो । पुर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि पहाड तराईसम्म बिबिध जातजाति, भाषा, भेषभुषा, कला-संस्कृति, नाच-गान, रितिरिवाजले सम्पन्न बिबिधताले रंगीन अनेकतामा एकताका प्रतिक सुन्दर फुलबारी हो । नेपाल बुद्धभूमि, देवभूमि, ऋषि-मुनिका तपोभूमि, ज्ञानभूमिले उर्बर पवित्र भूमि हो । प्रकृतिको अनुपम उपहार बिस्वकै सुन्दर हिमाल, जैविक बिबिधताले युक्त जंगल,पहाड, झरना, ताल-तलैया, उर्बर समथर तराई जस्तो भौगोलिक बिबिधताले सुपोषित नेपाल पृथ्वीकै अनुपम उपहार हो । तर बिगत ४०-५० बर्षदेखि, मिसनारी वा एनजीओ, आइएनजीओ नाममा मौलाएको बिजातिक विधर्मी धर्म-संस्कृति, मुलुकमा लोकतन्त्र बहालीपछि राजनैतिकरुपमा धर्म-निरपेक्षताकोआडमा अझ तीब्रगतिमा ब्याप्त हुने क्रम जारि छ । नेपालमा आज तेस्तो कुनै गाउँ वा जिल्ला वा शहर छैन, जहाँ बिजातिक धर्म-संस्कृति ब्याप्त नभएको होस । अझ नेपालको कुनै कुनै जिल्ला र गाउँ पुरै धर्मपरिवर्तनको शिकार भैसकेका छन् । परिणामत: साँस्कृतिक-बिचलन, पारिवारिक-बिखन्डनमात्र नभई धार्मिक-असहिष्णुताको पराकाष्ठा धार्मिक-द्वन्द, मुर्ति, मठ-मन्दिर तोडफोड, समाजिक बहिस्कार जस्ता हजारौ बर्षदेखि एउतै परिवार र समाजको रुपमा बस्दै आएका नेपाली-नेपाली आज धार्मिक विभेदका कारण भेदभिन्न छन् / यो देशकै लागि दुर्भाग्यको कारण हो ।

सम्बिधानत: लोभ-लालच-प्रलोभन र प्रभावमा कुनै पनि स्वतन्त्र नागरिकलाई धर्मपरिवार्तन गर्ने छूट मात्र छैन, दण्डनीय अपराध पनि हो । तर बिडम्बना सत्तामा गएका र बसेका पार्टी वा नेताहरुले बर्षौंदेखिको असामाजिक अधार्मिक बिजातिक धर्मपरिवर्तनको समस्यालाई सम्बोधन र सुल्झाउनुको सट्टा लोभ-लालचको मोहमा आफै बेचिएर नेपालको सनातन देखिको धर्म-संस्कृति माथि गद्दार गर्दैछ । आउने नेता वा जनप्रतिनिधिहरुले के यो समस्या निमिट्यान्न पारी पुन: एकपटक नेपाललाइ सनातनिक बिसुद्ध बुद्धभूमि, देवभूमि, ज्ञानभूमि, तपोभूमि बनाउन सक्लान? स्वधर्मप्रेमी मतदाताहरु आफैले सोच्नु परेको परिस्थिति छ ।

३ आर्थिक समृद्धि :

देश-बिकासको महत्वपूर्ण मापदण्ड आर्थिक समृद्धि हो । २१ शदीमा पनि नेपाल गरीबी र बेरोजगारीको समस्याले दिनहुँ हजारौंको संख्यामा युवाहरु कामको सिलसिलामा विदेशिने क्रम जारी छ । यस भन्दा पहिले चुनाबको एजेन्डामा आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर जनताको घरदैलोमा गएर भोट मागेर सत्तामा पुगेका कुनैपनि पार्टीले नेपाली जनताको जीवनस्तर उकास्ने आर्थिक विकास गर्नसकेन । नेपाल भन्दा आर्थिकरुपले पछाडि परेका, बंगलादेश, भुटान, आज नेपाल भन्दा आर्थिकरुपले माथिल्लोस्तरमा छन् । सत्तासीन पार्टीहरुले देश आर्थिकरुपमा विकास नगरेको मात्र होइन, भएका उद्योग, कलकारखाना पनि बन्द गरिदिए । स्वदेशी उत्पादन र स्वरोजगारलाइ प्रोत्साहन गर्नुको सट्टा बिदेशी उत्पादन र आयातमा निर्भर हुनुपर्ने नाजुक परिस्थितिमा देशको आर्थिक खस्किन्दा लाखौको संख्यामा नेपालीहरु रोजगारको बाध्यतामा बिदेसिनु परेको छ । नेता र पार्टीहरुको आर्थिक समृद्धिको चुनाबीनारा खाली नारा र एजेन्डामा मात्र सीमित भए । उल्टो जनताको ढाड सेक्ने महंगीले नेपाली जनता मारमा परेका छन् । त्यो भन्दा बिडम्बना, सत्तामा पुगेका पार्टीहरु सरकारी ढुकुटीबाट आफ्ना पार्टी, कार्यकर्ता र व्यक्तिगत खर्चको लागि मनलागी खर्च गर्छन । तर जनता सिटामोल नपाएर ज्यान गुमाउनु परेको कहालीलाग्दो स्थिति छ । देशको दुर्गम र बिकट ठाउँमा २१ शदीमापनि बाँच्नको लागि न्युनतम आवस्यकता आधारभूत बिकास पनि भएको छैन । तेसैले देशको आर्थिक समस्या समाधान गर्ने, जनताको आर्थिक स्तर उकास्ने स्पस्ट-योजनासहितका सक्षम जनप्रतिनिधिलाइ मात्र मतदान गरौँ ।

४ निशुल्क स्वास्थ्य उपचार

देशको सर्वांगीण बिकासको एक अंग जनतालाई निशुल्क स्वास्थ्य -उपचार र सेवा उपलब्ध गराउनु हो । चुनाब भाषणमा निशुल्क स्वास्थ्यसेवाको सपना बाड्ने नेताहरु सत्तामा पुगेपछि जनतालाई निशुल्क स्वास्थ्य सेवा जे सुकै होस् आफ्नो सामान्य उपचारको लागि भने सरकारी खर्चमा दिल्ली, बैन्कोक, वाशिंगटन धाउने गर्छन । नेपालको दुर्गम, विकट गाउ, जिल्ला, प्रदेशमा अस्पताल, स्वास्थ्य केन्द्र र उपचारको अभावबाट बर्षौ नेपाली जनता अनाहकमा ज्यान गुमाउनु परेको मात्र होइन देशकै राजधानीमा समेत सिटामोल र अक्सिजन नपाएर मृत्युवरण गरेका कहालीलाग्दो घटना छन् । कुनैपनि सरकारी वा निजि अस्पतालमा बिनाशुल्क सामान्य उपचारसमेत नपाउनु नेपालीकै दुर्भाग्य भन्नुपर्छ । बिगत सत्तामापुगेका पार्टी वा राजनैतिक नेतृत्वले जनताको यो मौलिक सुबिधाको हक दिलाउन नसकेको परिस्थितिमा अबको चुनाबमा यो मौलिक सुबिधा उपलब्ध गराउन सक्ने स्पष्ट कार्ययोजना सहित प्रतिबद्ध पार्टी या जनप्रतिनिधिलाइ मत दिनेबारे मतदाता सचेत हुनैपर्छ ।

५ निशुल्क शिक्षा:

देश बिकासकोलागि जनताको चेतनास्तर विकास हुनु महत्वपूर्ण र अनिवार्य बिषय हो । चेतना विकासको लागि देशभर बिद्यालय, बिस्वबिद्यालय खोली जनतालाई शिक्षा हाँसिल गर्ने उपयुक्त शिक्षा तथा तालिम केन्द्र खोल्नुपर्ने हुन्छ । नेपालमा प्राथमिक तहदेखि माध्यमिक तहसम्म निशुल्क शिक्षा सरकारले उपलब्ध गराएपनि निजि स्कूलहरुमा महँगो शुल्क तिरेर पढ्नु पर्ने बाध्यता छ । युगसुहाउँदो नयाशिक्षा र बिशेषज्ञ ज्ञानभएका शिक्षित तथा तालिमप्राप्त जनशक्ति उत्पादनले देश बिकासको लागि महत्वपूर्ण योगदान मिल्छ । तर बिडम्बना आफ्नै देश आर्थिक, सामाजिक, राजनैतिकरुपमा नाजुक परिस्थितिको कारण देश छाडेर बिदेशमा गएर पढ्ने र बिदेशमै बाकि जीवन बिताउने होडबाजीले बर्सौदेखी नेपालले दक्ष जनशक्ति एकातिर गुमाएको छ भने अर्कोतिर बौद्धिक-दोहन (ब्रेन-ड्रेन) पनि भएको छ ।

त्यो भन्दा पनि नेपालको शिक्षाक्षेत्रहरु पार्टी राजनीतिबाट प्रभवित छन् । नेपालमा बिस्वबिद्यालय जस्तो उच्चशिक्षा केन्द्रहरु पार्टीराजनीतिको प्रभावमा पर्नु, योग्य व्यक्तिलाई योग्यस्थान दिनुभन्दा पनि राजनैतिक नियुक्ति गर्नु र विद्यार्थीहरु पनि पार्टीराजनीतिबाट मुक्त नहुनु देश बिकासको लागि दक्ष जनशक्ति उत्पादन हुनुमा बाधक कारण हुन् । यदि बिस्वबिद्यालय जस्ता बौद्धिक उच्चशिक्षा केन्द्रहरुनै राजनैतिक पूर्वाग्रहबाट ग्रसित छन् भने देशको अन्य निकायहरुबाट के अपेक्षा गर्ने ? अत: चुनाबी मैदानमा उत्रिने जनप्रतिनिधिहरु वा पार्टीले स्पष्ट शिक्षा-नीति आफ्नो एजेन्डामा लिएर आउनै पर्छ । जनताले ती पार्टी वा जनप्रतिनिधिलाइ मत दिनुपर्नेमा सचेत हुनु पर्छ/

६ नैतिक शिक्षाको अनिवार्य

देश, भौतिक तथा प्राबिधिकरुपमा मात्र बिकास हुनु अंग-सम्पूर्ण या परिपूर्ण विकास भएको मानिदैन । कुनैपनि देश ढुंगा, माटो, बालुवाले मात्र बनेको हुँदैन, उच्चकोटीको बिसुद्ध ।विशिष्ट महापुरुषहरुको मानसिक र अध्यात्मिक महान ज्ञान, साधना, तपस्या, त्याग, बलिदान र योगदानबाट पनि बनेका हुन्छन । नेपाल, महान योगी, तपस्वी, बुद्ध, ऋषिमुनिहरूले परापुर्वकालदेखि सिद्धि-साधना, तपस्या, धर्माचरण, दिव्योपदेशबाटसिंचित, सुसंस्कारित, सुसभ्य, देवभूमि, ज्ञानभूमि, तपोभूमि हो । बिस्वमै उदाहरनीय/अनुकरणीय महान धर्म, संस्कृति, सभ्यता हाम्रो नेपालमा छ । यस्तो महान धर्म-संस्कृति र परम्परा चटक्कै बिर्सेर / पन्छाएर भौतिक विकासमा मात्र जोड दिएर बिकासले जतिसुकै शिखर चुमेपनि देशका जनता वास्तविक अर्थमा सुखपुर्वक र शान्तिपुर्वक बाच्न सक्दैनन् । आजको यथार्थ प्रत्येक ३ जनामा एकजना मानसिक रोगी छन्  । आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । धेरै मानिस डिप्रेस्सन, सप्रेस्सन, इच्छाभंग, anxiety disorder जस्ता मानसिक रोगबाट ग्रसित छन । हत्या, हिंसा, अपहरण, बलात्कार, जस्ता समाजमा आपराधिक क्रियाकलाप बढ्दो छ । युवावर्ग बिस्वकै उत्कृष्ट कलेज, बि-बिद्यालयबाट शिक्षा, तालिम पाएरपनि भयानक हिंसात्मक द्वन्द निम्त्याउने आतंकवादी, उग्रवादी, पृथकतावादी सम्म हुने र बिस्वनै आतंकित पार्ने, मानव समाज र सभ्यता बिरोधि अमनुस्य-चरित्रहरुका निर्माणपनि वर्तमान शिक्षाकै बाइप्रोडक्ट हुन् । आफ्नो अमुल्य जीवननै अन्धकारमा धकेल्ने प्राणघातक: हेरोइन, कोकेन, LSD ,STP, गाँजा, अफीम, चरेस जस्ता विषाक्त र प्राणघातक लागुपदार्थ सेवन गर्नेको बढ्दो संख्याले व्यक्तिगत, पारिवारिक, सामाजिकमात्र होइन देशकै राष्ट्रिय समस्या बन्न पुगेको छ । आखिर उत्कृष्ट शिक्षा र तालिम पाएर पनि मानिस बिनास र पतनमुखी किन बन्दैछ?

भौतिक शिक्षाको एकोहोरो/एकांगी पढाई वा सिकाइ, प्राविधिकरुपमा यान्त्रिक तालिमले परिनामत: एकातिर भौतिक बिषयमा बिशेषज्ञ ज्ञान हासिल गरेका जनशक्ति उत्पादन भएपनि नैतिकता, सदाचार, सु-संस्कार, सु-सभ्यताबिनाको शिक्षानीति र पाठ्यक्रमले नैतिकरुपमा पतित, अद्यात्मिकरुपमा स्खलित, संवेंदनहीन, मानवीयता र मानव-अन्तर-सम्बन्धतालाईभन्दा नाफा र लाभमा आत्मकेन्द्रित, स्वार्थी, मतलबी, भ्रष्ट, ठगी, अपराधीहरु पनि बढेको पाइन्छ । देशका सामान्य नागरिकदेखि देशहाक्ने कार्यपालिका, न्यायपालिका, व्यबस्थापिका जस्तो राष्ट्रिय संयन्त्रमा बसेका उच्चओहोदाका जिम्मेवार नेता, हाकिम र कर्मचारीहरुसमेत आज भ्रष्टाचारबाट अछुतो छैनन् । अत: हाम्रो शिक्षानीतिको सोच र दृष्टिकोण बदल्नु जरुरि छ । शिक्षामा नैतिक शिक्षा (Moral Education ) र नैतिक बिज्ञानको (Moral Science ) पाठ्यक्रम समावेश हुनु जरुरि छ । राजनीतिकनियुक्ति र हस्तक्षेपबिनाको शिक्षानिकाय र बिस्वबिद्यालयहरुमा भौतिक-मानसिक शिक्षापद्दति मार्फत सकारात्मक सोच र दक्ष जनशक्ति तयारपार्ने पाठ्यक्रम र शिक्षानीति निर्माणगर्न सक्षम, योग्य, विज्ञ, शिक्षाविदहरु नियुक्ति हुनु जरुरि छ ।

माथिका महत्वपूर्ण राजनैतिक दर्शन र एजेन्डा बोकेका, देशको समग्र विकास र समृद्धि, जनताको सुख-शान्ति र अमन चयनलाइनै सर्वोपरी ठानेर राष्ट्रिय नेतृत्वको जिम्मेवारी बहन गर्नसक्ने पार्टीनेता वा स्वतन्त्र जनप्रतिनिधिलाई मात्र प्रत्येक नागरिकले आफ्नो बिबेकसम्मत निर्णयले मतदान गरौँ ! सच्चा देशभक्त, राष्ट्रप्रेमी, जनतहितेषी जनप्रतिनिधिलाइ छानेर आफ्नो अमुल्य मतदानको सदुपयोग गरौँ !

भिक्षु आनन्द:

त्रि. बि. बि. बौद्ध अध्ययन विभागका उपप्राध्यापक, २०६२/६३ आन्दोलनपछि पुनर्स्थापित अन्तरिम संसदमा अन्तरिम बिधायक तथा २०६४ को ऐतिहासिक निर्वाचनपछिको पहिलो संबिधान सभामा धार्मिक तथा नागरिक समाजबाट समानुपातिक प्रणालीबाट संबिधान सभा सदस्य समेत हुनुभएको थियो /