वीरेन्द्रनगर, सुर्खेत । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण अर्थात् गथांमुगः (गँठेमंगल) पर्व आज (बुधबार) देखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९, लाटीकोइलीमा विशेष उल्लासका साथ सुरु भएको छ । गँठेमंगल पर्वलाई भूत भगाउने पर्व पनि भनिन्छ । काठमाडौं उपत्यकामा विशेषतः नेवार समुदायले मनाउने यो पर्व सुर्खेतको लाटीकोइलीमा भने सबै समुदायको साझा पर्वको रूपमा स्थापित भएको छ, जसले यहाँको सांस्कृतिक सद्भावलाई अझ प्रगाढ बनाएको छ ।
पौराणिक र सांस्कृतिक महत्व: घण्टाकर्णदेखि भैरवसम्म
यस पर्वको लौकिक पक्ष जति रोचक छ, यसको पौराणिक पृष्ठभूमि त्यति नै गहिरो छ । प्रसिद्ध संस्कृतिविद् हरिराम जोशीका अनुसार, गठेमंगलका मुख्य देवता कुमार (कार्तिकेय) हुन् । उहाँका अनुसार, भगवान कुमारले बाल्यकालमै तार्केश्वर नामक शक्तिशाली दैत्यको वध गरी स्वर्ग, पृथ्वी र पाताललाई दानवबाट मुक्त गरेका थिए। यही वीरताको उपहारस्वरूप उनलाई ‘घण्टा’ प्रदान गरियो ।
“कुमारलाई घण्टाको ध्वनि अत्यन्तै प्रिय लाग्ने र उनले त्यो घण्टा आफ्नो घाँटीमा धारण गरेकाले उनको नाम ‘घण्टाकर्ण’ रहन गएको हो,” संस्कृतिविद् जोशी भन्नुहुन्छ, “त्यसैले यो पर्व घण्टाकर्णको पूजा हो।” उहाँ गठेमंगललाई भैरवको अर्को रूपका रूपमा पनि लिइने बताउनुहुन्छ । यसरी, गठेमंगल पर्व दुष्ट आत्मालाई धपाउने लौकिक परम्परा र देवताको वीरताको सम्मान गर्ने पौराणिक कथाको सुन्दर मिश्रण हो ।
ऐतिहासिक परम्परा र सामुदायिक एकताको प्रतीक
सुर्खेतको वीरेन्द्रनगर-९ लाटीकोइलीमा यो पर्वको लामो र गौरवपूर्ण इतिहास छ। स्थानीयका अनुसार, वि.सं. २००९ सालदेखि नै गोठीकाँडा र बयलकाँडामा बसोबास गर्ने नेवार समुदाय र अन्य समुदायका बासिन्दाले मिलेर गठेमंगल पर्वदेखि लाखे नाच, गाईजात्रा, रोपाइँजात्रा र कृष्णजन्माष्टमी जस्ता पर्वहरू मनाउँदै आएका थिए । त्यही जीवन्त परम्परालाई निरन्तरता दिँदै लाटीकोइलीमा हरेक वर्ष यी जात्राहरूलाई जीवन्त राखिदै आएको छ ।
किन मनाइन्छ गठेमंगल? यस्तो छ विश्वास र विधि
यो पर्वलाई धेरैले घण्टाकर्ण भने पनि यसको खास नाम ‘गथांमुगः’ रहेको जानकारहरू बताउँछन् । नेवाः देय्ः दबु जिल्ला कार्य समितिका कोषाध्यक्ष प्रवाशकुमार शाक्यका अनुसार, ‘गथांमुगः’ को अर्थ दोबाटो, चौबाटो वा चोक भन्ने हुन्छ ।
यो पर्व किसानहरूको रोपाइँसँग जोडिएको छ । रोपाइँको चटारोलाई यति महत्त्वपूर्ण मानिन्थ्यो कि, त्यसबेला घरमा कसैको मृत्यु भएमा पनि शवलाई मान्द्रोमा बेरेर एक कुनामा थन्क्याई रोपाइँ सकेपछि मात्र अन्त्येष्टि गरिन्थ्यो भन्ने किंवदन्ती छ । यसैले रोपाइँको सबै काम सकेपछि टोलवासीहरूमा रहेको नकारात्मक शक्ति, भूतप्रेत र अनिष्टलाई हटाउन यो पर्व मनाइन्छ।
यस दिन बिहानै टोलको चोक वा चौबाटोमा नर्कट वा बाँसको तीनखुट्टे लिंगो बनाएर त्यसमा डरलाग्दो भूतको आकृति टाँसिन्छ । सम्पूर्ण टोलवासी मिलेर तान्त्रिक विधिअनुसार पूजा गरी दही-चिउरा खुवाइन्छ । साँझ परेपछि परालको मुठो बालेर त्यस लिंगोलाई तीन पटक परिक्रमा गराइन्छ र सबै मिलेर भूतको प्रतीकलाई घिसार्दै खोलामा लगेर बगाइन्छ । खोलामा बगाइसकेपछि सबैले मुख धोएर घर फर्कने चलन छ ।
संकटमा संस्कृति, संरक्षणमा लाटीकोइली
केही समयअघिसम्म सुर्खेतका गुप्तीपुर, इत्राम, ढोढेखाली, गणेशचोक जस्ता स्थानमा पनि यो जात्रा धुमधामले मनाइन्थ्यो । तर, अहिले लाटीकोइलीबाहेक अन्यत्र यो परम्परा लगभग लोप भइसकेको छ । यस्तो अवस्थामा लाटीकोइलीका स्थानीय समुदाय आफ्नो मौलिक संस्कृति जोगाउन सक्रिय रूपमा लागेका छन् । त्यस्तै कर्णालीको अर्को जिल्ला दैलेखमा पनि गँठेमंगल देखि विभिन्न जात्राहरु मनाइने गरिएको छ ।
कृष्णजन्माष्टमीसम्म चल्नेछ जात्राको रौनक
नेवाः देय्ः दबुका सदस्य सचिव बालकृष्ण श्रेष्ठका अनुसार, गठेमंगलको दिनदेखि कृष्णजन्माष्टमीको भोलिपल्ट लाखे नकाट्दासम्म लाटीकोइलीमा जात्राको रौनक चल्नेछ । यस अवधिमा लाटीकोइलीका वृद्ध, बुद्धिजीवी र युवाहरू मिलेर घर-घरमा लाखे नाच देखाउने, विभिन्न झाँकी प्रस्तुत गर्ने र रमाइलो गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
यसरी, लाटीकोइलीमा मनाइने गठेमंगल पर्व केवल एक धार्मिक अनुष्ठान मात्र नभएर सामुदायिक एकता, सांस्कृतिक निरन्तरता र लोप हुन लागेको परम्पराको संरक्षणको एक सुन्दर उदाहरण बनेको छ ।




Prawash Kumar Shakya । ७ श्रावण २०८२, बुधबार १२:५१ बजे